म्याग्दी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन अन्तर्गत शुक्रवार सम्पन्न म्याग्दी शाखाको निर्वाचनबाट हरिकृष्ण शर्मा गौतमको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।
गौतम यसअघि पत्रकार महासंघ म्याग्दी शाखाको उपाध्यक्ष हुनुहुन्थ्यो । निर्वाचनमार्फत शाखाको खुला उपाध्यक्षमा दलप्रसाद विश्वकर्मा (अमित), उपाध्यक्षमा अमृतप्रसाद पौडेल (बास्कुने), सचिवमा ठाकुरप्रसाद आचार्य (शिव), सहसचिवमा खुलातर्फ सन्दीप शर्मा रिजाल, समावेशीतर्फ प्रताप बानियाँ र कोषाध्यक्षमा साधन घर्तीमगर निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक तारानाथ शर्माले जानकारी दिनुभयो ।
पत्रकार महासंघ म्याग्दीको कार्यसमिति सदस्यमा कमल खत्री र राकेश शर्मा तथा केन्द्रीय प्रतिनिधि परिषद सदस्यमा विनोद धौलागिरि पनि सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक शर्माले बताउनुभयो । महासंघ म्याग्दी शाखाको कार्यसमितितर्फ अन्य सदस्य र प्रदेश प्रतिनिधि परिषद सदस्य तथा केन्द्रीय प्रतिनिधि परिषद सदस्यतर्फ महिला पदमा समेत उम्मेदवारी नपरेको उहाँले बताउनुभयो । म्याग्दी शाखाको सचिव पदमा भने दुई जनाको उम्मेदवारी परेको भए पनि पछि एक जनाको फिर्ता भएको थियो ।
अन्य पदहरुमा भने एकल उम्मेदवारी परेपछि पत्रकार महासंघ म्याग्दी शाखाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । पत्रकार महासंघको निर्वाचनमा नेपाली कांग्रेस समर्थित नेपाल प्रेस युनियन र नेकपा एमालेको प्रेस चौतारी नेपालबीच देशैभर गठबन्धन बनेको थियो । सोही अनुसार म्याग्दी शाखाको अध्यक्ष प्रेस युनियनलाई परेपछि युनियन र चौतारीको संयुक्त प्यानलबाट गौतम अध्यक्ष बन्नुभएको हो । अन्य पदहरुमा पनि यी दुवै सङ्गठनले भागबण्डा गरेका थिए । सदस्यतर्फ एक प्रेस युनियन, एक प्रेस सेन्टर तथा केन्द्रीय प्रतिनिधि परिषद सदस्यमा पनि एकजना सेन्टरबाटै निर्विरोध निर्वाचित भएका छन् ।
पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा निर्विरोध निर्वाचित गौतम यसअघि महासंघ म्याग्दीको कोषाध्यक्ष, सचिव र उपाध्यक्ष भैसक्नुभएको छ । वि.सं. २०६४ सालदेखि म्याग्दीबाट पत्रकारिता सुरु गर्नुभएका गौतम धौलागिरि क्षेत्रको पहिलो अनलाइन बेनीअनलाइन डटकमको सञ्चालक÷सम्पादक र बेनी साप्ताहिक पत्रिकाको हाल प्रकाशक तथा प्रधानसम्पादकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ स्थानीय सञ्चारमाध्यमसँगै म्याग्दीबाट नागरिक दैनिक, पब्लिक फोरके टेलिभिजनलगायत राष्ट्रिय सञ्चारमाध्यममा रिपोर्टिङ गर्दै आइरहनुभएको छ ।
म्याग्दी जिल्लामा व्यावसायिक पत्रकारितासँगै सामाजिक क्षेत्रमा समेत सक्रिय नवनिर्वाचित अध्यक्ष गौतम म्याग्दीको लोकप्रिय तथा परोपकारी संस्था ओमकुमारी शान्ति कोषको निवर्तमान अध्यक्ष बनिसक्नुभएको छ । यसका साथै लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निवर्तमान अध्यक्ष, म्याग्दी सामुदायिक पुस्तकालयको वर्तमान कोषाध्यक्ष, पूर्व विद्यार्थी मञ्च म्याग्दी बहुमुखी क्याम्पसको संस्थापक÷सदस्य, नेपाल बाल सङ्गठन म्याग्दीको कार्यसमिति सदस्य तथा म्याग्दी मिडिया सोसाइटीको उपाध्यक्षसहित जिल्लाको पत्रकारिता र सामाजिक क्षेत्रमा उहाँको आबद्धतासँगै सक्रियता रहेको छ ।