नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा भरत अर्मजा

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा भरत अर्मजा मगर चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनी स्थित मगर संघको सभाहलमा सम्पन्न दशौं जिल्ला अधिवेशनबाट अर्मजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । निवर्तमान अध्यक्ष दर्पण रोका मगरका अनुसार, कार्यसमितिको उपाध्यक्षमा अस्मिता पुर्जा मगर ,सचिवमा साजन पुन मगर , सहसचिवमा थबहादुर पुन मगर कोषाध्यक्षमा मेघना गर्बुजा मगर चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा दिजन पुन मगर , किस्मा मगर ,सलिना खोरजा मगर ,समिक्षा थापा मगर , अनिल पाइजा मगर , समिता पुन मगर ,रुविसरा पुन मगर , आइस्मा पुन मगर ,मेलिना पाइजा मगर ,सिमरन अर्मजा मगर , एन्जल पुन मगर , मेघना गर्बुजा मगर ,महेन्द्र फगामी मगर , नेत्र फगामी मगर , सुजन बुढाथोकी मगर , विशाल घर्ती मगर र दिक्षा शेरपुञ्जा मगर चयन हुनुभएको छ । गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री रेशमबहादुर जुग्जालीले अधिवेशनको उद्घाटन गर्नुभयो ।

उहाँले देशको हरेक परिवर्तनमा मगर लगायत आदिवासी जनजाती समुदायको योगदान महत्वपुर्ण रहे पनि राज्यको महत्वपुर्ण निकाय ,संघ संस्था लगायत क्षेत्रमा कमजोर उपस्थिति रहेको बताउनुभयो । हरेक विद्यार्थी ,युवामा राजनितिक चेतना हुन आवश्यक रहेको उहाँले जोड दिनुभयो । डा.महाविर पुन ,सन्दुक रुइत ,कुलमान घिसिङ लगायत व्यक्तीहरुको उदाहरण दिँदै पुर्व मन्त्री जुग्जालीले आदिवासी जनजाती बढी इमानदार भएको दाबी गर्नुभयो । पछिल्लो समय सहकारीको विषयमा मगर समुदायका अगुवाले नेतृत्व गरेको सहकारीलाई मात्र बदनाम गर्न लागिपरेको उहाँले गुनासो पोख्नुभयो । ‘‘ अहिले मगर समुदायका अगुवाहरुले सञ्चालन गरिरहेको कुमारी बहुउद्धेश्यीय सहकारीलाई मात्र टार्गेट गरेको देखिएको छ । त्यसो होइन भने अन्य झनै संकटग्रस्त सहकारी सञ्चालकलाई किन जोगाइयो ,’’ उहाँले प्रश्न गर्नुभयो ।

साथै उहाँले प्रशासनिक क्षेत्रमा उपस्थिति बढाउन मगर समुदायका विद्यार्थीहरुलाई लोकसेवा आयोग तयारी कक्षा लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्दै आफुले सहयोग गर्ने सांसद जुग्जालीले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष विष्णु आले मगर , मगर संघ गण्डकी प्रदेश सदस्य टकसरा राना मगर , मगर संघ गण्डकी प्रदेश सदस्य हिरा पुन मगर , नेपाल मगर संघ जिल्ला समन्वय समिति उपाध्यक्ष खम थापा मगर र नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष कृष्ण अठार मगरले सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार