
दरवाङ। म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा एक लाख ५० हजार रुपैयाँ पुरस्कार राशीको दोस्रो जेपिसी कप फुटबल प्रतियोगिता शुरु भएको छ ।दरवाङमा रहेको जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले नववर्ष २०८२ को अवसरमा आयोजना गरेको प्रतियोगिताको मंगलबार मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो ।
यो पनि…
दरबाङमा साढे एक लाख पुरस्कार राशीको दोस्रो जेपीसी कप फुटबल प्रतियोगिता हुँदै
वैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५ समूहले सहभागिता जनाएका क्लवका अध्यक्ष कुशल घर्तिले जानकारी दिनुभयो । उद्घाटन खेलमा मालिका गाउँपालिका–५, रुन्माले आयोजकको ‘सि’ समुहलाई शून्यका विरुद्ध तीन गोलले पराजित गरेको छ ।पहिलो दिनको दोस्रो खेलमा बेनी नगरपालिका–४, तातोपानीले मालिका गाउँपालिका–५, पन्थोकलाई शून्यका विरुद्ध एक र तेस्रो खेलमा आयोजकको ‘डि’ समूहलाई मालिका गाउँपालिका–१, निस्कोट बेशीले एक का विरुद्ध ११ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख ५० हजार रुपैयाँ र ८० हजार रुपैयाँ प्रदान गरिने क्लवले जनाएको छ । अनुशासित र सेमीफाइनलबाट बाहिरिने टिमलाई १०/१० हजार रुपैयाँ, उत्कृष्ट खेलाडीलाई छ हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ । उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तिपुन, वडा अध्यक्ष पथबहादुर रोका लगायतको उपस्थिति थियो ।