फिल्म ‘माइतीघर’को छायांकन म्याग्दीको ताकम गाउँबाट सुरु

  म्याग्दी न्युज संवाददाता

ताकम । म्याग्दीको रमणीय गाउँ ताकमबाट फिल्म ‘माइतीघर’को छायांकन सुरु भएको छ । स्थानीय गणेश मन्दिरमा शुभसाइत पूजाआजा गर्दै विहीबारदेखि छायांकन सुरु भएको हो । छायांकन थलो धवलागिरी गाउँपालिका– ७ ,स्थित सो मन्दिरमा स्थानीय जनप्रतिनिधिको उपस्थितीमा ‘कास्ट एन्ड क्रू’ले मुहूर्त पूजा गरे । ४० दिनको छायांकन सेड्युलअन्तर्गत २० दिन ताकम र धारापानी गाउँमा छायांकन हुनेछ भने दरबाङको तातोपानी क्षेत्रमा बाँकी सुटिङ हुने निर्माता रोहित अधिकारीले बताउनुभयो।

पहिलोपटक गाउँमा फिल्म छायांकन हुन लागेको र आफूहरू खुसी भएको धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो। ‘रुकुम मैकोटले जसरी रुकुमको पर्यटन प्रवर्धन भयो, यसैगरि यो फिल्मले हाम्रो गाउँपालिकाको पर्यटन प्रवर्धन हुने आशा लिएका छौं,’ गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो।छायांकनको लागि गाउँपालिकाले सुरक्षा र व्यवस्थापनमा सघाउने पुनले जनाउनुभयो । ‘फिल्मकै कारण आन्तरिक र बाह्य पर्यटक आउने हाम्रो आशा छ । छायांकनको लागि हामीले सहयोगको प्रतिबद्धता पनि जनाएका छौं’, अध्यक्ष पुनले भन्नुभयो।

गाउँपालिका अध्यक्ष पुनले क्ल्याप र वडाध्यक्ष अशोक खत्रीले नरिवल फोडेर छायांकन शुभारम्भ गर्नुभयो । धौलागिरी हिमश्रृंखलाको मनमोहक दृश्य देखिने ताकम क्षेत्र पश्चिम म्याग्दीको प्रसिद्ध पर्यटकीय थलो हो । उचित प्रसारप्रसार हुन सके फिल्म पर्यटन मौलाउने आशा स्थानीय जनप्रतिनिधिको छ ।फिल्मको टोलीलाई गाउँमा स्थानीयले गाजाबाजा र नाचगानसहित स्वागत गरे ।

यसअघि छ माया छपक्कै, गाजलु र फर्की फर्कीजस्ता हिट फिल्म निर्माण गरेका अधिकारीको यो चौंथो प्रोेजेक्ट हो । यो फिल्ममा धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको अभिनय छ । मिलन तामाङले निर्देशन गर्ने यो फिल्मको छायांकन सुसन प्रजापतिले गर्नुहुनेछ। रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा यो फिल्मको निर्मातामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ छन् । कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल छन् । प्रदर्शन मिति दशैंको फूलपातिलाई तय गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार