अन्नपूर्ण आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुँदै

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि) आरोहणको हीरक महोत्सवको अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्णमा पहिलो पटक मानव पाईला टेकेको ७५ बर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा ३० किलोमिटर लामो म्याराथुन दौड हुन लागेको हो ।

जेठ २० गते अन्नपूर्ण गाउँपालिका–४ ,स्थित अन्नपूर्ण आधार शिविरबाट नारच्याङ गाउँसम्म म्याराथुन दौड प्रतियोगिता सञ्चालन हुने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । म्याराथुन प्रतियोगितामा करिब ६० जनाले सहभागीता जनाउने भएका छन् । जेठ १६ देखि २१ गतेसम्म विविध कार्यक्रम सहित मनाउन लागिएको अन्नपूर्ण हीरक महोत्सवको अवसरमा जिल्लामै पहिलो पटक उच्च उचाईमा म्याराथुन दौड प्रतियोगिता हुन लागेको अध्यक्ष पुनले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडाबाट ५/५ जना र जिल्लाका अन्य पाँच स्थानीय तहबाट २/२ जना र नारच्याङ क्षेत्रबाट थप युवाहरुले समेत म्याराथुनमा भाग लिने म्याराथुन दौड प्रतियोगिता उपसमितिका सदस्य चित्र तिलिजाले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः नगद  ५० हजार, ३० हजार र २० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

हीरक महोत्सवको अवसरमा पुख्र्यौली नाचका साथै विविध कार्यक्रम तय गरिएको छ । आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावारण गर्नुका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्राहलय र नारच्याङदेखि आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको समेत उद्घाटन गर्ने कार्यक्रम छ ।

हीरक महोत्सवको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली आउने गाउँपालिकाले जनाएको छ । उक्त अवसरमा आधार शिविरमा शिलाखेलमा आरोहीहरुको अभिलेख राख्ने समेत यतारी गरिएको अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिका सदस्य एवं अन्नपूर्ण प्रथम आधार शिविर पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो ।अन्नपूर्ण हिमाल आरोहण नेपालको पर्वतारोहण इतिहासमा ऐतिहासिक दिनको रुपमा परिचित छ । सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार