म्याग्दीमा ट्राफिक सप्ताह सुरु

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । ‘जिम्मेवार चालक ‘म’, जिम्मेवार यात्रु ‘म’, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित ट्राफिक सप्ताह–२०८२ मनाउन सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि ट्राफिक सप्ताह मनाउन सुरु गरिएको हो ।

ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले दुर्घटना न्यूनीकरण गर्नका लागि सबैभन्दा पहिला स्वयं चालक जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले ट्राफिक नियमको पूर्ण रुपमा पालना गरेर मात्रै सवारीसाधनहरु चलाउनुपर्ने बताउँदै अधिकारको प्रयोग गर्दैगर्दा आफूले निभाउनुपर्ने कर्तव्यको पनि ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले ट्राफिक सप्ताह सम्बन्धी सचेतनामूलक कार्यक्रमले ट्राफिक नियमको पालना गराउनुका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले ट्राफिक सचेतनामूलक कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गर्न आवश्यक रहेका बताउँदै हामी सबै आ–आफ्नो ठाउँबाट जिम्मेवार तथा प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र समाजसेवी केबि भण्डारीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमबारे बुझाउन आवश्यक रहेको बताउनुभएको थियो ।

कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म देशभर ३४ हजार ३ सय ५८ वटा सवारी दुर्घटना भएकोमा तीमध्ये सबैभन्दा धेरै मोटरसाईकल र स्कुटरका २० हजार १ सय ८३ वटा दुर्घटनाहरु भएको जानकारी दिनुभयो । उहाँले नेपालमा १ महिनामा २८ सय ६३ र दैनिक ९५ वटा सवारी दुर्घटना हुने गरेको भन्दै हालसम्म २ हजार ६६ जना व्यक्तिहरुको मृत्यु भएको बताउनुभयो । मासिक रुपमा देशभर १ सय ७२ वटा सवारी दुर्घटना हुँदा दैनिक ६ जनाको मृत्यु हुने गरेको तथ्याङ्क रहेको उहाँले बताउनुभयो ।

हालसम्म देशभर सवारी दुर्घटनाबाट ३१ हजार १ सय ५१ जना व्यक्तिहरु घाइते भएकोमा मासिक २५ सय ८६ जना र दैनिक ८७ जना रहेको प्रहरी नायव उपरिक्षक थापाले बताउनुभयो । उहाँले सवारी दुर्घटनाबाट अकालमै मानिसहरुले ज्यान गुमाउने गरेको बताउँदै सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि सडक व्यवस्थापनको साथै सुरक्षित रुपमा यात्रा गर्नुपर्ने बताउनुभयो । सवारी दुर्घटना कम गर्न सडक निर्माणकार्य, ट्राफिक नियमको जानकारी तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ ।

ट्राफिक सप्ताहअन्तर्गत पहिलो दिन आइतबार म्याग्दी सदरमुकाम बेनीमा प्रभातफेरी ¥यालीको आयोजना गरिएको थियो । उक्त ¥यालीमा जिल्लास्थित जनप्रतिनिधिहरु, राजनीतिक दल तथा सरकारी कार्यालय र विभिन्न संघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न विद्यालय तथा क्याम्पसका शिक्षक, विद्यार्थी, आमा समूहले ¥यालीमा नौमती बाजासहित सचेतनाका प्लेकार्डहरु बोकेर सहभागिता जनाइएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले सञ्चालन गर्नुभएको थियो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत स्वयंसेवकहरु परिचालन गरेर सवारीसाधनमा सचेतनामूलक स्टिकरहरु टाँस्ने, माईकिङ गर्ने, पर्चा तथा पम्प्लेटहरु वितरण, ग्रामीण सडकमा प्रशिक्षण कार्यक्रम सञ्चालन, विद्यालयस्तरमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । यसैगरी सवारी चालकहरुको स्वास्थ्य परीक्षण गर्ने, सवारीसाधनको सिटमा आरक्षण कोटाको कार्यान्वयन तथा अनुगमन र निरीक्षण गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गरिने ट्राफिक प्रमुख केसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार