बेनी । म्याग्दी जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बद्रीप्रसाद तिवारीले सेवा प्रवाहलाई सहज र सरल बनाउने प्रतिबद्धता जनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहिबार भएको पत्रकार भेटघाटमा गृहमन्त्रालयबाट हालै सरुवा भएर आउनुभएका प्रजिअ तिवारीले भनसुनको भरमा प्रक्रिया मिचेर, आवश्यक कागजात बिनै काम गर्ने सम्भव नहुने बताउनुभयो । पर्वतको मुडुकुवा घर भएका प्रजिअ तिवारी गृह मन्त्री रमेश लेखकका निजी सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
‘ कुनै नेता वा पहुँचवालाको भनसुनले मात्र सेवा पाइन्छ भन्ने भाष्य निर्माण हुँदै गएको सयमा कानुनले दिएको अधिकार प्रयोग गरेर सेवा प्रवाह गर्न कुनै कसुर बाँकी राख्दिन,’ उहाँले भन्नुभयो ,‘कागजात र प्रक्रीया पुगेर आएको कामका लागि कसैले भनसुन गर्नुपर्ने अवस्था हुदैन् ।’स्थानीय तह र जिल्लाका अन्य सरकारी कार्यालयहरुसँग सेवाप्रवाहलाई सहज र सरल बनाउन समन्वय गर्ने प्रजिअ तिवारीले बताउनुभयो ।
प्रजिअ तिवारीले कानुन विपरीत कुनै कार्य नगर्ने, जिल्लाभित्र शान्ति–सुरक्षा कायम गर्ने, विकास–निर्माणमा सहजीकरण गर्ने, भ्रष्टाचार न्यूनिकरणतर्फ ध्यान दिने र सेवा प्रवाहलाई सरल र सहज बनाउन इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।म्याग्दीको बारेमा सकारात्मक सन्देश रहेको र काम गर्न सजिलो हुने अपेक्षा सहित रोजेरै म्याग्दीमा सरुवा भएर आएको तिवारीको भनाइ छ । आफुलाई प्राप्त भएको जिम्मेवारीलाई कुशलतापुर्वक र सहज रुपमा ब्यवहारमा पुष्टि गर्ने प्रजिअ तिवारीले बताउनुभयो ।
भिडिओ हेर्नुहोस्…


























