
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,झिनडाँडामा गएराती एक युवतीको हत्या भएको छ । २० वर्षीया पुनमायाँ बिकको घरेलु हतियार प्रयोग गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक सागर तिमिल्सीनाले शौचालय गएको अवस्थामा आक्रमणमा परेकी बिकको बेनी अस्पतालमा उपचारका लागी ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका बताउनुभयो । उहाँका अनुसार ,मृतक बिकको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

राती १०ः३० को समयमा शौचालय जानुभएकी बिकले गुहार मागेपछि घरभित्र रहेका परिवारका सदस्यहरुले उद्दार र प्रहरीलाई खबर गरेका थिए । राती २ः२० मा प्रादेशिक बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनास्थलमा पुगेका प्रहरी निरीक्षक तिमिल्सीनाले हत्यामा संलग्नको खोजी भैरहेको बताउनुभयो । गाउँ अहिले शोकमा डुबेको छ ।

तस्बिर : गोपाल आचार्य


















































