म्याग्दीमा ९ सय २३ किशोरीलाई एचपीभी खोप लगाइने

  म्याग्दी न्यूज संवाददाता

बेनी, २५ माघ । म्याग्दीमा पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीलाई लक्षित गर्दै ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सञ्चालन गरिने भएको छ । आइतबार जिल्लाका सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा यही माघ २७ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत जिल्लाका ९ सय २३ जना किशोरीलाई खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लाका ४५ वटै वडामा रहेका १ सय ५ वटा विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेर पुगेका किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो । यसका साथै गत वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि अभियानमा समेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।

प्रमुख ठकुराठीले एचपीभी खोप पूर्ण रूपमा सुरक्षित र प्रभावकारी रहेकाले अभिभावक तथा किशोरीहरूलाई निर्धक्क भई खोप लगाउन आग्रह गर्नुभएको छ । उहाँका अनुसार निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई सम्बन्धित विद्यालयमै खोप केन्द्र स्थापना गरी खोप दिइने व्यवस्था मिलाइएको छ ।

खोप अभियानअन्तर्गत बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा माघ २७ गते, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा माघ २८ गते तथा रघुगंगा गाउँपालिकामा फागुन ४ र ५ गते खोप कार्यक्रम सञ्चालन गरिने कार्यतालिका तय गरिएको छ ।

लक्षित संख्याअनुसार बेनी नगरपालिकामा ३ सय ५१ जना, मंगला गाउँपालिकामा १ सय १८ जना, मालिका गाउँपालिकामा १ सय ८७ जना, धवलागिरी गाउँपालिकामा १ सय ५७ जना, रघुगंगा गाउँपालिकामा १ सय १ जना र अन्नपूर्ण गाउँपालिकामा ७४ जना छात्रालाई खोप लगाउने लक्ष्य राखिएको छ । त्यस्तै, विद्यालय नजाने १० वर्ष उमेरका ६ जना र गत वर्ष खोप लगाउन छुट भएका ४ जना किशोरीलाई समेत खोप दिइनेछ ।

अभियानलाई प्रभावकारी बनाउन १ सय ७ जना स्वास्थ्यकर्मी र १ सय ७ जना स्वयंसेवक परिचालन गरिने प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियानमार्फत भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार