
दरबाङ । म्याग्दीको धौलागिरी गाउँपालिका–७ फेदिखोला क्षेत्रमा दुई वटा बोलेरो जिप एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । सोमबार अपराह्न करिब ३ बजे ताकमबाट दरबाङतर्फ आउँदै गरेको बा ७ च ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो । पल्टिने क्रममा उक्त जिप विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ३३१४ नम्बरको यात्रुबाहक बोलेरो जिपमाथि खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि दरबाङ आधारभूत अस्पताल पुर्याएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा पर्वतको जलजला गाउँपालिका–८ निवासी ग ३ च ३३१४ नम्बरको बोलेरो चालक अनिल नेपाली टाउकोमा चोट लागेर घाइते भएका छन् भने म्याग्दीको धौलागिरी गाउँपालिका–३ मुना निवासी २७ वर्षीय धुर्व पुन शरीरको भित्री भागमा चोट लागेर मध्यम अवस्थाका छन् ।
यस्तै धौलागिरी गाउँपालिका–७ का १७ वर्षीया रबिना सिर्पाली, ७४ वर्षीय सुनबिर रसाइली, ७८ वर्षीया ख्याउटी रसाइली, ४० वर्षीया धना कुमारी सुनार, ६३ वर्षीय दलबहादुर सुनार र २६ वर्षीया कल्पना सुनार पनि मध्यम घाइते भएका छन् । साथै, रोल्पाको खवाङ गाउँपालिका–५ निवासी ५२ वर्षीय भिमसेन पुनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिना जानकारी दिनुभयो ।
दुर्घटनाका बेला दुवै सवारीमा गरी १० जना सवार रहेका मध्य एक जना सकुशल रहेका छन् भने ९ जना घाइते भएका छन् । घाइते सबैको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।






































