
दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–७, फेदिखोला क्षेत्रमा दुई वटा बोलेरो जिप एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । मंगलबार अपराह्न करिब ३ बजे ताकमबाट दरबाङतर्फ आउँदै गरेको बा ७ च ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो । पल्टिने क्रममा उक्त जिप विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ३३१४ नम्बरको यात्रुबाहक बोलेरो जिपमाथि खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि दरबाङ आधारभूत अस्पताल पुर्याएको थियो ।प्रहरीका अनुसार दुर्घटनामा पर्वतको जलजला गाउँपालिका–८ निवासी ग ३ च ३३१४ नम्बरको बोलेरो चालक अनिल नेपाली टाउकोमा चोट लागेर घाइते भएका छन् भने म्याग्दीको धौलागिरी गाउँपालिका–३ मुना निवासी २७ वर्षीय धुर्व पुन शरीरको भित्री भागमा चोट लागेर मध्यम अवस्थाका छन् ।
यस्तै धवलागिरीको गाउँपालिका–७ का १७ वर्षीया रबिना सिर्पाली, ७४ वर्षीय सुनबिर रसाइली, ७८ वर्षीया ख्याउटी रसाइली, ४० वर्षीया धना कुमारी सुनार, ६३ वर्षीय दलबहादुर सुनार र २६ वर्षीया कल्पना सुनार पनि मध्यम घाइते भएका छन् । साथै, रोल्पाको खवाङ गाउँपालिका–५ निवासी ५२ वर्षीय भिमसेन पुनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिना जानकारी दिनुभयो ।दुर्घटनाका बेला दुवै सवारीमा गरी १० जना सवार रहेका मध्य एक जना सकुशल रहेका छन् भने ९ जना घाइते भएका छन् । घाइते सबैको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।






































