राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार मीना थापा मगरलाई

  म्याग्दी न्यूज संवाददाता

पोखरा । ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापा मगर सम्मानित हुने भएकी छन् । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीष मगरको संयोजकत्वमा गठित छनोट समितिले पत्रकार मीना थापा मगरलाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

समितिमा अधिवक्ता मनोज घर्ती मगर, राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिकी अध्यक्ष नरमाया आले मगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगर तथा सचिव बलबहादुर रोका मगर सदस्य रहेका थिए । नेपाल मगर पत्रकार संघले राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति द्वारा स्थापित उक्त पुरस्कार प्रत्येक वर्ष प्रदान गर्दै आएको छ ।

पोखरामा रहेर पत्रकारिता गर्दै आएकी थापाले कौराहासहित मगर समुदायको भाषा, संस्कार, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनका विषयमा लामो समयदेखि कलम चलाउँदै आएकाले उनको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गर्न लागिएको छनोट समितिका संयोजक रुद्र श्रीष मगरले जानकारी दिनुभयो ।

पुरस्कारस्वरूप थापालाई नगद १५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिनेछ । सम्मान कार्यक्रम असार २६ गते शुक्रबार पोखराको अमरसिंहस्थित पोखरा सेकुवा घरमा आयोजना गरिने भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।

यसअघि उक्त पुरस्कारबाट कमला राना मगर, तिलक पुन, प्रताप राना मगर, रुद्र हितान मगर, खेम सारु मगर, एमबी आस्था मगर, मनोज घर्ती मगर, शारदा झेडी मगर र रुद्र श्रीष मगर सम्मानित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार