गर्भवती तथा सुत्केरी महिला र बालबालिकालाई पोसिलो जाउलो प्रदर्शनी

म्याग्दी शनिबार फागुन ४ गते ।

म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित रनबाङमा शुक्रबार पोसिलो जाउलो प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा ग्रामीण भेगका गर्भवती तथा सुत्केरी महिला र बालबालिकालाई लक्षित गरेर पोसिलो जाउलो प्रदर्शनी गरिएको हो ।

कार्यक्रमको अवसरमा मकैको पिठो, साग, फर्सीको लेदो, कुखुराको अण्डा, नुन र चिनी मिश्रित फर्सीको पोसिलो खिर पकाएर प्रदर्शनी गरिएको थियो । उक्त पोसिलो जाउलो कार्यक्रममा उपस्थित बच्चासहितका आमाहरु र बालबालिकाहरुलाई खुवाइएको थियो । गर्भवती तथा सुत्केरी महिला एवं बालबालिकाहरुलाई पोसिलो जाउलो बनाउने र खाने तरिकाका विषयहरुमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

पोसिलो जाउलो प्रदर्शनी कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले अवलोकन गरेकी थिइन् । कार्यक्रममा मन्त्री पुनले बालबालिकाहरु भविष्यका कर्णधारहरु भएको बताउँदै उनीहरुलाई पोषणयुक्त खानेकुरा खुवाएर हुर्काउने र बढाउनुपर्ने बताएकी छिन् । उनले महिला गर्भवती भएदेखि नै पोषणयुक्त खानेकुरा खानेमा जोड गर्नुपर्ने बताउँदै सुत्केरी महिला र बालबालिकाको हेरचाहका लागि विशेष ध्यान दिन आग्रह गरिन् ।

सामाजिक विकास मन्त्री पुनले स्थानीय तहहरुले बजेट विनियोजन र नीति तथा कार्यक्रम बनाउँदा विकास निर्माणलाई मात्रै ध्यान दिएको भन्दै अब गर्भवती महिला र सुत्केरी तथा बालबालिकाको स्वास्थ्यको हेरचाहमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिइन् । समुदायको वातावरण स्वस्थ राख्न तथा महिला लक्षित कार्यक्रमका लागि स्थानीय तहमार्फत रचनात्मक खालका गतिविधिहरु सञ्चालन गर्नुपर्ने मन्त्री पुनको भनाइ छ ।

कार्यक्रम मंगला–२, बाबियाचौरका वडा अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर खातीको अध्यक्षता, स्वास्थ्यचौकी इन्चार्ज कल्पना रिजालको स्वागत र सुआराका फिल्ड सुपरभाइजर भीमकुमारी बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच बेनी नगरपालिका–१, रत्नेचौरमा पनि शुक्रबारै आमा समूहको आयोजनामा पोसिलो जाउलो प्रदर्शनी कार्यक्रम सम्पन्न भएको सुआहाराले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार