सिपमूलक व्यवसायका लागि आधारभूत व्युटीपार्लर तालिम

प्रताप बानियाँ
म्याग्दी, मंगलबार बैशाख ३१ गते ।
सिपमूलक व्यवसाय सञ्चालन गर्नका लागि म्याग्दीको सदरमुकाम बेनीमा आधारभूत व्युटी पार्लरसम्बन्धी तालिम सुरु भएको छ ।

मंगला गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आयोजनामा व्युटी पार्लरसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

बेरोजगार युवाहरुलाई सिप सिकाएर रोजगारको सिर्जना गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित आधारभूत व्युटीपार्लर तालिमको सुरुवात गरिएको आयोजकले जनाएका छन् । तालिमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले समृद्ध मुलुक र सुखी नेपाली बन्नका लागि पेशा व्यवसायमा लागेर व्यावसायिक उद्यमी बन्नुपर्ने बताएका छन् ।

उनले सौन्दर्यको पक्ष पनि मानिसको एक गहना भएकोमा जोड दिँदै गरिबी हटाउन र समृद्धि ल्याउनका लागि सबै रोजगारका क्षेत्रमा लाग्नुपर्ने आवश्यकता रहेको बताए । मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले गाउँपालिकामार्फत विभिन्न किसिमका तालिमहरु सञ्चालन गरिएको बताउँदै महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको जानकारी दिएकी छिन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका प्रमुख चन्द्रशेखर सापकोटा र म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले सिप सिकेर व्यवसाय गर्न सकेमा तालिमले सार्थकता पाउने बताउँदै तालिमलाई परिणाममुखी बनाउनुपर्ने बताए । मंगला गाउँपालिकाका उपाध्यक्ष केसीको अध्यक्षता, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख सरिता गौतमको स्वागत र तथ्याङ्क सहायक सन्तोष ढुङ्गानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा मंगला–२, बाबियाचौरका वडा सदस्य चक्रलाल पाण्डेले मन्तव्य राखेका थिए ।

आगामी असार ११ गते डेढ महिनाको अवधिसम्म सञ्चालन हुने तालिममा मंगला गाउँपालिकाका १२ जना युवा महिलाहरुको सहभागिता रहेको छ । बेनीको प्रजिया व्युटीपार्लर एण्ड टे«निङ सेन्टरमा सञ्चालित तालिमको पार्लरका प्रोप्राइटर गंगा थापा कार्कीले प्रशिक्षण दिने आयोजकको भनाइ छ । गाउँपालिकाले तालिमका सहभागीको खर्च र घरेलु कार्यालयले खाजा तथा प्रमाणपत्रको व्यवस्थापन गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार