नेत्रज्योती संघ म्याग्दीको अध्यक्षमा बानियाँ

म्याग्दी, शनिबार जेठ ३२ गते । नेपाल नेत्रज्योती संघ जिल्ला शाखा म्याग्दीको प्रथम साधारणसभा तथा अधिवेशनबाट अमर बानियाँ सभापतिमा चयन भएका छन् । ‘दृष्टिमा सबैको अधिकार’ भन्ने मूल नारासहित शुक्रबार बेनीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले बानियाँको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन गरेको हो ।


जिल्ला शाखाको सदस्यहरुमा कृष्णबहादुर बानियाँ, लक्ष्मण केसी, ठहरबहादुर भण्डारी, चन्द्रबहादुर विश्वकर्मा, गंगा बानियाँ, पूर्णबहादुर बानियाँ, सोमनाथ उपाध्याय, मुक्तिबहादुर खड्का, गोविन्द बानियाँ, बसुधा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, यामबहादुर शाक्य र मनोनित सदस्यमा लालबहादुर भण्डारी निर्वाचित भएका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल नेत्रज्योती संघका केन्द्रीय सचिव भरतबहादुर चन्दले संघमार्फत विभिन्न ठाउँमा आँखासम्बन्धी शिविरहरु आयोजना गरिएको बताए । उनले मानिसको सबैभन्दा ठूलो अङ्ग आँखा भएकाले यसलाई बचाउनुपर्ने भन्दै समय समयमा चेकजाँच गरिरहनुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दीमा पनि नेत्रज्योती संघ स्थापना हुनु खुशीको कुरा भएकाले संघले सामाजिक क्षेत्रमा खासगरी आँखासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।


कार्यक्रममा नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिव क्या. मिनबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, नेत्रज्योती संघका केन्द्रीय सदस्य प्राध्यापक डाक्टर दिलबहादुर क्षत्री, हिमालय आँखा अस्पताल पोखराका अध्यक्ष तथा अधिवक्ता कृष्ण गुरुङ, नेत्रज्योती संघका गण्डकी प्रदेश सदस्य ध्रुव केसी, बागलुङ शाखाका सभापति भरत पुरी, रेडक्रस म्याग्दी शाखाका सभापति लेखबहादुर हमाल, बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल र आजीवन सदस्य सुवासकुमार श्रेष्ठले मन्तव्य राखेका थिए । 

कार्यक्रम नेपाल नेत्रज्योती संघ म्याग्दीका तदर्थ समिति सभापति अमर बानियाँको अध्यक्षता तथा स्वागत र सचिव राजेन्द्रकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार