रुममा दुईवटा झोलुङ्गे पुलको उद्घाटन

प्रताप बानियाँ /म्याग्दी, आइतबार असार १५ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, पात्ले र गिठिनी गाउँ जोड्ने सोलीखोलामाथि नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन भएको छ । पात्ले झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिको आयोजनामा शनिबार एक समारोहबीच पुलको उद्घाटन तथा सार्वजनिक लेखापरीक्षण गरिएको हो ।

मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट टिबिएसयु पोखराको आर्थिक सहयोग तथा मिलन म्याग्दीको प्राविधिक–सामाजिक सहयोगमा पुल निर्माण गरिएको छ । कुल २६ लाख ४६ हजार एकसय ९२ रुपैयाँ स्टिमेट लागत रहेको झोलुङ्गे पुल निर्माणमा गाउँपालिकाले एकलाख ५८ हजार सातसय ७१ र केन्द्रीय अनुदान स्वापमार्फत २२ लाख ४१ हजार आठसय ६८ रुपैयाँ तथा समुदायको ५२ हजार नौसय २३ रुपैयाँ लगानी रहेको छ ।

४४ मिटर लम्बाई, १०६ सेन्टीमिटर र खोला बौलाउने ठाउँदेखि ५ मिटरभन्दा बढी उचाईमा रहेको पुलको भारवहन क्षमता भने ५ टन रहेको क्षेत्रीय प्राविधिक सहयोग प्रदायक (आरटिएपि) पोखराका इन्जिनियर नरबहादुर सम्बाहाम्फेले बताए । गएको फागुन २१ गते निर्माण सम्झौता गरी सुरु गरिएको झोलुङ्ग पुलको शुक्रबार निर्माणसम्पन्न गरिएको थियो । कुल १ हजार ३ सय ३६ दिन रोजगार सिर्जना भएको पुलबाट १ सय १५ घरधुरीका ५ सय ७५ जना स्थानीयवासिन्दा लाभान्वित भएका छन् ।

यसैगरी शनिबारै मालिका–२ र ३ को सिमानामा पर्ने छेरबाङ खोलामाथि निर्माणसम्पन्न पुलको पनि उद्घाटन भएको छ । रुमको जेम–बेलीगाउँ जोड्ने छेरबाङ झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिको आयोजनामा पुलको उद्घाटन तथा सार्वजनिक लेखापरीक्षण गरिएको हो ।

मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट टिबिएसयु पोखराको आर्थिक सहयोग तथा मिलन म्याग्दीको प्राविधिक–सामाजिक सहयोगमा पुल निर्माण गरिएको छ । कुल ४५ लाख नौहजार नौसय ७१ रुपैयाँ लागत स्टिमेट रहेको झोलुङ्गे पुल निर्माणमा गाउँपालिकाले दुईलाख ७० हजार पाँचसय ९८, केन्द्रीय अनुदान स्वापमार्फत ३७ लाख २१ हजार नौसय ५७ रुपैयाँ तथा समुदायको ९० हजार एकसय ९९ रुपैयाँ लगानी रहेको छ ।

८५ मिटर लम्बाई, १०६ सेन्टीमिटर चौडाई र खोला बौलाउने ठाउँदेखि ५ मिटरभन्दा बढी रहेको पुलको भारवहन क्षमता भने १७ टन रहेको आरटिएपि पोखराका इन्जिनियर सम्बाहाम्फेले बताए । गएको फागुन २१ गते निर्माण सम्झौता गरी सुरु गरिएको झोलुङ्ग पुलको गत शुक्रबारै निर्माणसम्पन्न गरिएको थियो । कुल २१ सय ८० दिन रोजगार सिर्जना भएको पुलबाट ४ सय २५ घरधुरीका २३ सय ३८ जना स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन् ।

नवनिर्मित दुईवटै झोलुङ्गे पुलको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुले उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार