राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा विजी विजयी

पोखरा,सोमबार मंसिर ९ गते ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्वाचनबाट अध्यक्षमा रमेश विजी निर्वाचित हुनुभएको छ । आइतबार पोखरामा सम्पन्न महाधिवेशनमा आफ्ना प्रतिद्वन्द्वी विष्णु खत्रीलाई मात्र ३९ मत अन्तरले हराउँदै विजी प्रतिष्ठानको सातौँ अध्यक्षको रूपमा निर्वाचित हुनुभएको हो ।

जम्मा १३ सय ४८ मतदाता भएकोमा ८४ दशमलव ३४ प्रतिशत अर्थात् ११ सय ३७ मत खसेको थियो । जसमा अध्यक्षका दुई प्रतिस्पर्धी विजी र खत्रीले क्रमशः ५ सय ८४ र ५ सय ४५ मत पाउनुभएको थियो । त्यस्तै तारापति पराजुलीलाई हराउँदै राजु ढकाल कोषाध्यक्ष, घनश्याम रिजाललाई हराउँदै ईश्वरी प्रसाद भुसाल सह कोषाध्यक्ष, पुरुषोत्तम थापालाई हराउँदै कृष्ण रेउले प्रशासनिक कोषाध्यक्ष हुनुभएको छ । जीवन दाहाल प्रतिष्ठानको सचिवमा निर्वाचित हुनुभएको छ , भने सम्झना लामिछाने मगर, देवी घर्ती, तारानाथ आचार्य र रामकृष्ण बम मल्ल केन्द्रीय सदस्यमा ।

त्यस्तै सात खुल्ला सचिवमा जीवन दाहाल सहित , रमेशराज भट्टराई, कुलेन्द्र विक, हरि डाँगी, प्रचण्ड जिसी, वसन्त थापा र पुष्कर शर्मा निर्वाचित भएका छन् । त्यसै गरी यसअघि निर्विरोध निर्वाचित हुनेमा प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्षमा रामजी खाँड र महिला उपाध्यक्षमा राधिका हमाल रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार