पोखरातर्फ जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा २ जनाको ज्यान गयो,१६ घाइते

तनहुँ,शुक्रबार पौष २५ गते । पाल्पाको रामपुरबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाशक बस शुक्रबार दिउँसो तनहुँको घिरिङ गाउँपालिका–३, मानपुर नजिक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा तनहुँको घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापा र घिरिङ ३ की ननीमाया गुरुङको ज्यान गएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयो । थापाको घटनास्थलमै र गुरुङको उपचारको क्रममा ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको भिमादका स्वास्थ्य संस्था र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।हिलाम्मे सडकमा बस चिप्लिएर दुर्घटना भएको र बस सडकबाट झण्डै ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ । उज्यालोअनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार