ब्याजदर घटाउँदा पनि बढेन कर्जा

काठमाडौँ । कर्जा वृद्धिका लागि वाणिज्य बैंकहरूले उल्लेख्य रूपमा ब्याजदर घटाए पनि अझै कर्जा बढ्न सकेको छैन । कोरोना महामारीपछि थुप्रिएको तरलता व्यवस्थापन गर्न यतिखेर अधिकांश बैंकले घर, जग्गालगायतमा कर्जाको ब्याजदर एकल अंकमा झारेका छन् । जुन ब्याजदर चार वर्षयताकै कम हो ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले त ७।२५ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । कोरोना नियन्त्रणका लागि सुरु गरिएको लकडाउन र निषेधाज्ञाले कर्जा लगानीमा समस्यामा पारेको बैंकर बताउँछन् । हिँड्डुलको माहोल नहुँदा व्यवसायीलाई बैंकसम्म पुग्नै समस्या परिरहेको छ । लकडाउन खुलेपछि असार र साउनमा घर कर्जा केही बढेको थियो । तर भदौको सुरुवातदेखि नै पुनः निषेधाज्ञा सुरु गरिएपछि कर्जा लगानी बढ्न नसकेको बैंकरको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म सबै वाणिज्य बैंकको घर कर्जा ०।९३ प्रतिशतले बढेको थियो । त्यस अवधिसम्ममा बैंकहरूले २ खर्ब ८ अर्ब रूपैयाँ घर कर्जा लगानी गरेका छन् । जेठ मसान्तसम्ममा त्यस्तो कर्जा २ अर्ब ६ अर्ब रूपैयाँ थियो ।

लकडाउन र निषेधाज्ञाका कारण कर्जा बढ्न नसकेपछि अहिलेको अवस्थमा सुधार आएपछि कर्जाको माग ह्वात्तै बढ्ने अपेक्षा बैंकले गरेका छन् ।

भदौ दोस्रो सातासम्म बैंकहरूले ३४ खर्ब ८५ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ९२ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन् ।

‘अहिले घोषणा गरिएको ब्याजदर निकै सस्तो हो,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘जुन कर्जा हात पार्न कैयनले चासो दिइरहेका छन् ।’ कोरोना महामारीका कारण उपत्यका लगायत देशका प्रमख सहरमा बसोबास गर्नेहरू त्रासमा रहेकाले कर्जा लिन ध्यान नपुगेको अनुमान गरिएको छ ।

‘कर्जा लिन नखोजेर बैंकमा तरलता थुप्रिएको होइन,’ ती सिइओले नागरिकसँग भने, ‘अधिकांश उद्योगी, व्यवसायी कर्जा लिन तम्तयार भएको पाएका छौं ।’ कतिपय उद्योगीले अहिले बैंक तथा वित्तीय संस्थाले अघि सारेको कर्जाको ब्याजदरबाट व्यवसाय फस्टाउन निकै सघाउने भएकाले दिनहुँजसो सोधीखोजी भने गर्ने गरेको बताइन्छ । कतिपय व्यवसायीले अहिले कर्जा नलिए कहिले लिने भन्ने गरेको बैंकरको भनाइ छ ।

कर्जा लगानी नहुँदा यतिखेर बैंकिङ च्यानलमा करिब दुई खर्ब रूपैयाँ थुप्रिएको छ । तरलता थुप्रिएपछि राष्ट्र बैंकले अर्थतन्त्र चलायमान गर्न पटकपटक रिपो रिभर्समार्फत तरलता खिच्ने गरेको छ । रिपो रिभर्समार्फत पैसा खिच्दा केन्द्रीय बैंकले कहिले तीन, कहिले पाँच पैसा ब्याज दिने गरेको छ ।

कोरोना त्रासका कारण यतिखेर अधिकांश बैंकले पूर्ण रूपमा नै काम गर्न पाएका छैनन् । अधिकांश बैंकले आलोपालो शाखा सञ्चालन गर्दै आएका छन् भने सीमित कर्मचारीबाट काम चलाइरहेका छन् ।

एक सातामा ६ अर्बले कर्जा बढ्यो
गत साता बैंकहरूको कर्जा लगानी ६ अर्ब रूपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ दोस्रो साता कर्जा लगानी ६ अर्ब रूपैयाँले बढेको हो ।

त्यस्तै गत साता निक्षेप पनि ६ अर्ब रूपैयाँले नै बढेको छ । भदौ दोस्रो सातासम्म बैंकहरूले ३४ खर्ब ८५ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ९२ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन् । बैंकरहरू भदौ सुरुवातदेखि निषेधाज्ञा सुरु नभएको भए सोही अवधिसम्म २०–२५ अर्ब रूपैयाँ कर्जा लगानी भइसक्ने अनुमान गर्छन् ।

‘अलिकति अवस्थामा सुधार आउनेबित्तिकै पुनः कर्जा लगानी हुनेमा ढुक्क छौं,’ एक बैंकरले भने । जति बढी अवधि बैंकमा तरलता थुप्रियो उति नै अर्थतन्त्रमा समस्या आउने गर्छ । कोरोना महामारीका कारण नेपाललगायत अधिकांश मुलुकको अर्थतन्त्रमा संकुचन आउने विज्ञहरूले बताउँदै आएका छन् । छिमेकी मुलुक भारतमा कोरोनाकै कारण आर्थिक वर्ष २०२०–२१ को पहिलो त्रैमासमा अर्थतन्त्रमा २३।९ प्रतिशतले गिरावट आएको छ । जुन गिरावट २४ वर्षयताकै कम रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । नागरिक न्यूजबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार