महिलालाई उद्घोषण तथा भाषणकलाको क्षमता विकास तालिम

  म्याग्दी न्युज संवाददाता

म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम सम्पन्न भएको छ । मंगला सामुदायिक सिकाइ केन्द्र मंगला–२, बाबियाचौरको आयोजना र मंगला गाउँपालिकाको संयोजनमा तालिम सञ्चालन गरिएको थियो । गएको आइतबारदेखि मङ्गलवारसम्म तीन दिन चलेको तालिममा मंगला–२, बाबियाचौरको सिमलचौर, कोत्राबाङ, तोराखेत, रनबाङलगायत स्थानका महिला समूहबाट करिब २० जना महिलाहरुले सहभागिता जनाएका थिए । ग्रामीण भेगका महिलाहरुलाई उद्घोषण र भाषणकलामा सक्रिय बनाउने उद्देश्यले क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको मंगला सामुदायिक सिकाइ केन्द्रले जानकारी दिएको छ ।

तालिमको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कार्यसमिति सदस्य एवं जलजला अनलाइन डटकमका सम्पादक तथा सञ्चालक कृष्णबहादुर जिसी र नेपाल टेलिभिजन म्याग्दीका जिल्ला संवाददाता एवं रुप्से दैनिक पत्रिकाका सहसम्पादक समेत रहेका पत्रकार प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो । तालिममा उद्घोषण तथा भाषणकला, कार्यक्रम सञ्चालन गर्ने तौरतरिका, कार्यक्रममा सम्बोधन, स्वागत र शुभकामना मन्तव्य व्यक्त गर्ने तरिका, क्षमता अभिवृद्धि, महिला अधिकारलगायत विविध विषयहरुमा सहजीकरण गरिएको थियो ।

तीन दिनको तालिम अवधिभरमा सैद्धान्तिक विषयको कक्षाभन्दा पनि सहभागीहरुको चाहनाअनुसार भाषण गर्ने कलाको विकास गर्नका लागि प्रयोगात्मक अभ्यासलाई बढी जोड दिइएको थियो । सहभागीहरुलाई विभिन्न समूहमा विभाजन गरी माइकको प्रयोगमा कार्यक्रम सञ्चालन र सम्बोधन गर्ने तरिका, स्वागत एवं शुभकामना मन्तव्य व्यक्त गर्न लगाइएको थियो ।तालिमको समापनसत्रलाई सम्बोधन गर्दै प्रमुख प्रशिक्षक जिसीले तालिमको अवधिमा सिकेका र सिकाइएका विषयवस्तुलाई आगामी दिनमा पूर्ण रुपले व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिनुभयो । मंगला सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष लक्ष्मी सुवेदीको अध्यक्षता र सहभागी बेलकुमारी केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहायक प्रशिक्षक बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहभागीद्वय पूर्णकली पौडेल र देवी अधिकारीले अनुभव सुनाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार