मोना क्षेत्रिय समिति नागोया,जापानद्धारा बाढी पहिरो पीडितको पुर्नवासका लागि साढे पाँच लाख बढी सहयोग

बेनी । म्याग्दी प्रवासी नेपाली संघ मोना क्षेत्रिय समिति नागोया ,जापानले जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्नवास तथा पुनस्र्थापनाका लागि साढे पाँच लाख रुपैयाँ बढी सहयोग गरेको छ । क्षेत्रिय कार्यसमितिका सदस्य पुर्ण गर्बुजाको संयोजकत्वमा संचालन गरिएको अभियानमा नागोयामा रहेका म्याग्दीली लगायत नेपालीहरुबाट संकलित पाँच लाख ३८ हजार ५५ येन नेपाली साढे पाँच लाख रुपैयाँ बढी राष्ट्रिय कार्यसमिति मोना जापानलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

क्षेत्रिय समिती नागोयाका अध्यक्ष रुपेश चोचाङ्गी पुन मगर र कोषाध्यक्ष राम बहादुर किसानले सो रकम राष्ट्रिय कार्यसमितिका अध्यक्ष दिपक कार्कीलाई हस्तान्तरण गर्नुभएको हो । मोनाले सञ्चालन गरेको जिल्लाको विभिन्न ठाउँमा बाढी पहिरोबाट विस्थापीत पीडित परिवारको पुर्नवास संगै पुनस्र्थापनामा सघाउने उद्धेश्यले सो रकम राष्ट्रिय कार्यसमितिलाई हस्तान्तरण गरिएको अध्यक्ष चोचाङ्गी पुन मगरले बताउनुभयो । विश्वब्यापी रुपमा महामारी रुपमा फैलिएको कोरोना कहरका कारण रोजगारी गुमेको अवस्थाका विच पनि म्याग्दीमा परेको प्राकृतिक विपदको समयमा पीडित परिवारको पीडामा केही मलम लगाउन सकियोस भनेर आफुहरुले सो आर्थिक सहयोग गरिएको अध्यक्ष चोचाङ्गी पुन मगरको भनाई छ ।

राष्ट्रिय कार्यसमिति अध्यक्ष कार्कीले क्षेत्रिय समितिलाई धन्यबाद ब्यक्त गर्दै मोना जापानले संकलन गरेको रकम सहित एक मुस्त मोना आइईसीले स्थापना गरेको मोना आपतकालिन राहत कोषको खातामा जम्मा गरिने बताउनुभयो । मोनाले गत असार २५ यतादेखी परेको अविरल बर्षा संगै आएको बाढी पहिरो प्रभावित क्षेत्रमा सम्बन्धित स्थानीय तहको समन्वयमा पुर्नवासका लागि आर्थिक सहयोग संकलन अभियान थालेको छ । बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल मोनाले राहत उपलब्ध गराएको थियो ।

बाढी पहिरोबाट म्याग्दीका मराङ,बिम,ताकम,धारापानी,काफलडाडा,देविस्थान ,निस्कोट,अर्मन ,फगाम,काभे्र ,तितर ,महभिर ,पात्लेखेत, कुइनेमंगलेको दुवाडी धार,खरिबोट ,छरी ,पात्लेखर्क लगायत क्षेत्रमा सवा एक सय बढी घर भत्किएका छन् भने सयौं परिवार विस्थापित भएका छन् । विस्थापित परिवार स्थानीय तह ,विभिन्न संघसंस्थाको सहयोग तथा आफन्त र छिमेकीकोमा शरण लिएर बसेका छन् । मोनाले विपद व्यवस्थापन ,स्वास्थ्य ,शिक्षा, मानविय लगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । जिल्लाका बाढी पहिरो पीडित परिवारको पुर्नवास तथा पुनस्र्थापनाका करिब दुई करोड रुपैयाँ संकलन भएको मोनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार