केसीका समर्थकद्वारा पोखरामा दिनहुँ प्रदर्शन

पोखरा । चिकित्सा शिक्षामा सुधारका माग राखेर १९ औं पटक सत्याग्रहमा बसेका डा.केसीको पक्षमा पोखरामा दिनहुँ प्रदर्शन हुन थालेको छ। डा.केसीका समर्थकद्वारा दैनिक रुपमा पोखराका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको हो। ‘जागौं पोखरा अभियान’को नेतृत्वमा पोखरामा केसी समर्थनमा प्रदर्शन जारी राखिएको संयोजक शिरिष गुरुङले बताइन्।

प्रदर्शनका दिनहरु थपिदै जाँदा प्रदर्शन थप चर्काउँदै लगिएको छ। शुरुमा मौन प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले पछिल्ला दिनमा भने नारा, जुलुशसमेत गर्न थालेका छन्। प्रदर्शनको पाचौं दिन आईतबार केसीका समर्थकहरुले थाल, नाङ्लो ठटाउँदै नाराबाजीसमेत गरे।

पोखराका विभिन्न चोकहरुमा कहिले उभिएर त कहिले र्‍याली निकालेर प्रदर्शनकारीहरुले केसीका माग पूरा गर्न दवाब दिँदै आएका छन्। प्रदर्शनकारीहरुले प्रदर्शनको तरिकासँगै ठाउँपनि दैनिक रुपमा परिवर्तन गर्दै आएका छन्। आईतबार भने पोखराको सभागृहचोकबाट मानवअधिकारचोक चिप्लेढुंगासम्म प्रदर्शन गरेका थिए। आईतबारको प्रदर्शनमा उनीहरुले ब्यानर, प्लेकार्ड बोकेर प्रदर्शन गर्नुका साथै थाल ठटाउँदै शंखसमेत बजाए। ‘सुतिरहेका जनता र निदाईरहेको सरकारलाई जगाउनका लागि हामीले फरकरफरक तरिका अप्नाएका हौं’–संयोजक गुरुङले भनिन्।

केसीको माग जायज भएकाले उनको समर्थनमा प्रदर्शन गरिएको संयोजक गुरुङले बताईन्। डा.केसीका मागहरु एकदम जायज छन्,‘उनले भनिन्,‘त्यहि भएर ति मागहरु पूरा गर्नका लागि दवाब दिन हामी सडकमा आएका हौं।’

मेडिकल माफियाको अन्त्य गर्ने, शिक्षा र स्वास्थ्य सुलभ हुनुपर्छ भन्ने माग नेपाल र नेपालीको लागि अपरिहार्य भएको उनको भनाई छ। ‘जागौं पोखरा अभियान’ले दवाबमूलक प्रदर्शन जारी राख्ने जनाएको छ। ‘डा.केसीका माग जबसम्म पूरा हुँदैन, तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ’–उनले भनिन्।

‘जागौं पोखरा अभियान’ सामाजिक विकृति, विसंगतिका विरुद्ध आवाज उठाउने संस्था हो। साथै यसले विकासमा जनसहभागिता हुनुपर्छ भन्दै आफैपनि पोखराका सडकमा रहेका खाल्डाखुल्डी पुर्नेलगायतका कार्यलाई अभियानकै रुपमा पनि अगाडि बढाउँदै आएको छ।nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार