श्रीमान्-श्रीमतीको विवादले निम्त्याएको दुर्घटना

दाङमा विष सेवनबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमतीको अवस्था गम्भीर रहेको छ।पश्चिम दाङको बबई गाउँपालिका-५ बबरपुरका २५ वर्षीय भरत केसीको मृत्यु भएको छ भने उनकी श्रीमती रीता केसीको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

आपसी विवादपछि बिहान २ बजे श्रीमानले विष खाएका थिए। उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बाँके रेफर गरिएको थियो। उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए।

श्रीमानको मृत्युको खबर सुनेपछि घरमा रहेकी श्रीमती रीताले पनि बिहान ४ बजेतिर विष खाएको प्रहरीले बताएको छ ।घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय खितलपुरका प्रमुख प्रहरी निरिक्षक मोहनविक्रम केसीले श्रीमती रीताको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा भइरहेको जानकारी दिए।केसी दम्पत्तिका ५ वर्षीया छोरी र दुई वर्षका छोरा छन्। घरमा भरतका आमाबुवा पनि बस्दै आएका छन्।बुवा छोराको शवको पोष्टमार्टमका लागि तुलसीपुरमा हुनुहुन्छ,’ प्रहरी निरिक्षक केसीले भने, ‘आमा विक्षिप्त अवस्थामा हुनुहुन्छ। त्यसैले घटनाबारे बुझ्न बाँकी नै छ।’

प्रारम्भिक अनुसन्धानबाट आपसी झगडाका कारण आवेशमा आएर पहिला श्रीमानले विष खाएको र श्रीमानको मृत्युको खबर सुनेपछि श्रीमतीले पनि विष सेवन गरेको खुल्न आएको प्रहरी निरिक्षक केसीले बताए।‘घटनाबारे उहाँहरूले प्रहरीलाई खबर नै गर्नु भएन,’ केसीले भने ‘आफैं रातिमा उपचार गर्न लैजानु भएको रहेछ। प्रहरीले बिहानमात्रै जानकारी पाएको हो।’

८ वर्षीय बालकले पनि विष सेवन गरेको आशंका

केसीका छिमेकी एक ८ वर्षीय बालकले पनि विष सेवन गरेको आशंका गरिएको छ। ८ वर्षीय विशाल परियारले बिहान खेल्ने क्रममा त्यसै फालिएको विष खाएको हुन सक्ने प्रहरीले बताएको छ।

बिहान दश बजेतिर बालकले बान्ता गर्न थालेपछि त्यस्तो आशंका गरिएको प्रहरी निरीक्षक केसीले बताए। बिरामी बालकको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार पछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

घटनाबारे अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ।setopatiबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार