तरकारी बेच्न निस्किएका व्यक्तिको बसको ठक्करबाट मृत्यु

काठमाडौं । काठमाडौंको थानकोट नजिक बसले ठक्कर दिँदा तरकारी व्यापारीको मृत्यु भएको छ। मंगलबार बिहान अन्दाजी साढे ४ बजे चन्द्रागिरि नगरपालिका-७ थानकोट हाइवेमा दुर्घटना भएको हो।

मलंगवा-काठमाडौंमा चल्ने ना ५ ख ८४७४ नम्बरको बसले उनलाई ठक्कर दिएर भागेको थियो। ठक्करबाट बाजुरा घर भई चन्द्रागिरि नगरपालिका-६ महादेवस्थान बस्ने २५ वर्षीय नवीन लोहार गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै अस्पताल पुर्‍याउँदा चिकित्सकहरूले पौने ५ बजे मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए।

मृतक बिहान सागसब्जी नाम्लोले बोकेर बेच्न जाँदै थिए। हाइवेको आधाबाट काटेर अर्कोतर्फ जाँदा बसले ठक्कर दियो,प्रहरी नायब उपरीक्षक श्रेष्ठले भने,मृतक चन्द्रागिरिमा टनेल बनाएर तरकारी खेती गर्दै आएका व्यक्ति हुन्।उनका अनुसार बसले लोहारलाई ठक्कर दिए भागेको थियो। पछि प्रहरीले हाइवेमा जडान गरिएका सिसिटिभीको माध्यमबाट बसको खोजी गरेको थियो।

अहिले नगरपालिकाको लगानीमा नागढुंगादेखि कलंकीसम्म ६८ वटा सिसिटिभी जडान गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। सिसिटिभी नभएको भए हामीलाई खोज्न निकै गाह्रो हुन्थ्यो,उनले भने,सिसिटिभीको मद्धतबाट हामीले छिट्टै बस र चालकलाई नियन्त्रणमा लिन सफल भयौं। प्रहरीले उक्त बसलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिएको हो। सर्लाहीको हरिवन नगरपालिका-८ घर भएका बसका चालक ३४ वर्षीय सुनिल श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार