बैतडी बस दुर्घटना:मृतक ९ मध्ये ४ जनाको सनाखत

बैतडी । बैतडीको पाटन नगरपालिका–८ खोडपेमा हिजो राती भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–६, सित्तडका २५ वर्षिय प्रहरी जवान रणबहादुर चन्द, सोही ठाउँका २७ वर्षिय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौरकी १५ वर्षिया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।

मृतक चन्द,जोशी र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ऐरको शव बसले च्यापिएकोले निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। अन्य ५ जना मृतकको सनातखत हुन सकेको छैन। उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडीमामा राखिएको छ।

दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ८ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २६ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो। सानो घुम्तीबाट बस करिब ५ सय मिटर जति तल खसको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन्। बसका चालकसमेत घाइते छन्। क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकोले दुर्घटनामा परेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार