गुडिरहेको बसको ढोकाबाट लडेर एक युवकको मृत्यु

दाङ । सल्यानमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना युवकको मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका वडा नं. ११ का २१ वर्षीय एकराज खड्काको गुडिरहेको ना ५ ख १००१ नम्बरको बसको ढोकाबाट लडेर मृत्यु भएको हो।

सल्यानका प्रहरी प्रमुख डिएसपी विकास थापाका अनुसार खड्का बुधबार बिहान ११ बजेतिर बागचौर नगरपालिका वडा नं. २ खरिबोटमा ना ५ ख १००१ नम्बरको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए। उक्त बस बाफुखोलाबाट दाङको तुलसीपुरतर्फ आउँदै थियो। घाइते खड्कालाई बागचौरस्थित जनप्रिय पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो।

उपचारका क्रममा उनको साढे १ बजेतिर जिल्ला अस्पतालमा मृत्यु भएको डिएसपी थापाले बताए। ढोका नजिकै बसेका खड्का चालकले ब्रेक हान्दा सन्तुलन गुमाएर बसबाट लडेको भन्ने खुल्न आएको छ,’ डिएसपी थापाले भने। तर, बसका स्टापले भने बान्ता हुन थालेपछि उनी ढोकामा आएर बान्ता गर्ने क्रममा सन्तुलन गुमाएर लड्न पुगेको दाबी गरेका छन्। बस चालक र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार