काठमाडौं । रौतहटमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति करिब साढे ७ बजेतिर वृन्दावन नगरपालिका वडा नम्बर ७ सखुवा धमौराका १९ वर्षीय विकास पासवान र उनका छिमेकी ५० वर्षीय अमिरी पासवानबीच झगडा भएको थियो।
प्रहरीका अनुसार उनीहरू दुबैले मादक पदार्थ सेवन गरेका थिए। मापसे गरी आएका विकासले आफ्ना छिमेकीले अमिरीलाई ‘आमाको नाममा’ गालीगलौज गरेका थिए। त्यही क्रममा उनीहरूबीच झगडा सुरू भएको ईलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक रवि रावलले बताए।
दुबैले मापसे गरेका थिए। अमिरी घरमा अन्डा पुर्याएर बाहिर निस्किएका थिए र सोही बेला विकास पनि अमिरी भएको ठाउँमा आए,उनले भने, विकासले ‘आमाको नाममा’ गाली दिएछ र त्यसपछि उनीहरूबीच झगडा भयो।
झगडा हुँदा विकासले अमिरीलाई धकेल्दा उनको टाउकोमा चोट लागेको उनले बताए। उपचारका लागि उनलाई सिटी अस्पताल लगिएको थियो। पछि उपचार क्रममा उनको सवा ८ बजे मृत्यु भएको हो। उक्त घटनामा विकासका आफन्त पर्ने ५५ वर्षीय विन्द पासवान पनि पक्राउ परेका छन्।
प्रहरीले यस घटनामा विन्द पासवानको पनि संलग्नता देखिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटीबाट साभार