
म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको नवौं साधारणसभाको अवसरमा लामो समयदेखि पत्रिका वितरणमा सक्रिय व्यक्तिहरुलाई सम्मान गरिएको छ । एक दशकभन्दा अघिदेखि पत्रिका वितरण गर्दै आएका धौलागिरी–६ ,मराङकी झरना श्रीपाली र जलजला –७, धाईरिङ पर्वतका सन्ते नेपालीलाई नगद तथा सम्मानपत्रसहित सम्मान गरिएको हो । त्यसैगरी महासंघकी कार्यालय सहयोगी मनकुमारी परियारलाई पनि नगद र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ । कार्यक्रममा अध्यक्ष शैक्षिक प्रोत्साहन पुरस्कारबाट पत्रकार दिपा बुढाथोकी सम्मानित हुनुभएको छ ।
मालिका–५, देविस्थानीकी बुढाथोकीले बेनीमा पत्रिका वितरण र रेडियोमा प्राविधकको काम गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिनुभएको छ । हाल म्याग्दी वहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत बुढाथोकीको आर्थिक अवस्था समेत कमजोर हुँदा अध्ययनमा केही राहत मिलोस भनेर महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले व्यक्तिगत रुपमा रु ५ हजार नगद पुरस्कार प्रदान गर्नुभएको महासंघका सचिव शिव आचार्यले जानकारी दिनुभयो । साधारणसभाका अवसरमा जिल्लाका क्रियाशील पत्रकारहरुलाई जनही पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा पोलिसी हस्तान्तरण गरिएको महासंघले जनाएको छ । कार्यक्रममा २०८३ सालको भित्तेपात्रो समेत लोकार्पण गरिएको थियो । सम्मान तथा पुरस्कार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्मा तथा शाखा अध्यक्ष हरिकृष्ण गौतमले प्रदान गर्नुभएको थियो ।














































