कोरोना संक्रमणबाट भारतमा २४ घन्टामा थप ४८१ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ४ सय ८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६ सय ९९ पुगेको छ ।

भारतमा विगत चौबीस घन्टाको अवधिमा थप ४४ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख २२ हजार पुगेको छ जसमध्ये ८६ लाख ४२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल ४ लाख ४५ हजार व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार अठारौं दिन हो ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कूल १३ करोड ४८ लाख ४१ हजार नमूना परीक्षण गरेको जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सरकारले कोभिड–१९ को खोप निर्माण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउँदै खोपको डोज र मूल्य अझै टुंगो नलागेको बताए ।

उनले भने, “सरकारले खोप निर्माणमा ध्यान दिइरहेको छ । हामी खोप निर्माताहरुसँग छलफल गरिरहेका छौँ । हामी विश्वका अरु नियामकहरु, सरकारहरु, बहुराष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय कम्पनीसँग पनि छलफलमा छौँ । अहिलेसम्म कति डोज आवश्यक हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । हामीले अझै यसको सही उत्तर प्राप्त गरिसकेका छैनौँ ।” प्रधानमन्त्री मोदीले यही विषयमा राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरिरहेका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार