५४ हजार टन रासायनिक मल आयात

काठमाडौँ । धान रोप्ने र गोड्ने बेला किसानलाई मल उपलब्ध गराउन नसकेर सरकारको आलोचना भइरहेका बेला हिउँदे बालीका लागि करिब ५४ हजार टन रासायनिक मल आयात गरिएको छ। कृषि सामग्री कम्पनीले २९ हजार टन र साल्ट ट्रेडिङ कर्पोरेसनले २५ हजार मेट्रिक टन आयात गरेर गोदाममा ल्याइपु¥याएका हुन्।

गहुँलगायत हिउँदे बाली र तरकारीका लागि मल आयात गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए। ‘धान रोप्दा र गोड्दा मल अभाव भयो,’ केसीले भने, ‘हिउँदे बालीका लागि आवश्यक रासायनिक मल आइसकेको छ। केही आउने क्रममा छ। ’

बंगलादेशबाट ल्याउने भनिएको मल नआउँदा अभाव हुने किसानको आशंका थियो। ५४ हजार टन गोदाममा रहेको र आउने क्रममा रहेकाले अभाव नहुने मन्त्रालयले जनाएको छ। ‘बंगलादेशबाट मल आयो भने अर्को बालीका लागि स्टक रहन्छ,’ केसीले भने, ‘हिउँदे बालीका लागि पर्याप्त तयारी छ। ’ गहुँ, आलु र तरकारीमा चाहिने जति मल दिने उनले बताए।

हिउँदे बालीका लागि १९ हजार टन डिएपी र १० हजार टन पोटास मल आइपुगेको कृषि सामग्री कम्पनीले जनाएको छ। कृषि सामग्रीले भारतीय सप्लायर इन्डियन पोटास लिमिटेडमार्फत साउदी अरेबियाबाट डिएपी र बेलारुसबाट पोटास ल्याएको हो। २९ हजार टन मल गोदाममा आइपुगेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए। ‘थप ३० हजार मेट्रिक टन युरिया दुबईस्थित स्विस सिंगापुर सप्लायरमार्फत चीनबाट खरिद गरिएको छ,’ भण्डारीले भने। मल बोकेको पानीजहाज कोलकाता आइपुगेको उनले जानकारी दिए।

थप ३० हजार टन मल तीन सातामा नेपाल आइपुग्ने उनले बताए। साल्ट ट्रेडिङले आठ हजार टन डिएपी, १७ हजार टन युरिया, तीन सय ५० टन पोटास खरिद गरेर ल्याएको कर्पोेरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले बताए। झाका अनुसार ३० हजार टन युरिया र २० हजार टन डिएपी मल खरिद गरेर बाटोमा आउने क्रममा रहेको छ। ‘स्थल मार्गमा रहेको मल पनि छिट्टै आइपुग्छ,’ उनले भने।

धानमा मल अभाव भएकाले हिउँदे बालीका लागि छोटो प्रक्रियाबाट खरिद गर्न निर्देशन दिएको मन्त्रालयका निमित्त सचिव योगेन्द्रकुमार कार्कीले बताए।‘हिउँदे बालीका लागि मल अभाव हुन नदिन कार्ययोजना बनाएर मल आयात भइरहेको छ,’ कार्कीले भने, ‘बंगलादेशबाट ल्याउने मल अब जिटुजी प्रक्रियाबाट खरिद गर्छौं। ’

थप ७५ हजार मेट्रिक टन डिएपी र ५० हजार मेट्रिक टन युरिया आउने क्रममा रहेको कृषि सामग्री कम्पनीले जनाएको छ। सरकारले मलका लागि विनियोजन गरेको कूल अनुदान बजेटको ७० प्रतिशत कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनलाई प्रदान गर्दै आएको छ। त्यसका आधारमा ती कम्पनीले मल खरिद गर्छन्। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार