बाल यौन दुराचारमा संलग्न फ्रान्सेली नागरिक पोखराबाट पक्राउ

काठमाडौं । बाल यौन दुराचारमा गरेको आरोपमा एकजना फ्रान्सेली नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखरा महानगरपालिका–१७ बिरौता पावर हाउस फुर्सेखोला बगरबाट क्रिस्टियन सर्ज हेनरी नौगारेटलाई पक्रेको हो ।

मंसिर १५ मा पक्राउ गरिएका ६० वर्षीय नौगारेट अवकास प्राप्त इन्जिनियर हुन् । गैरपर्यटकीय भिसामा नेपालमा बसिरहेका नौगारेटले ३ जना नाबालकलाई यौन दुराचार गरेको ब्यूरोका प्रवक्ता (एसपी) बेल बहादुर पाण्डेले रातोपाटीलाई बताए ।

पोखरामा नेपाली महिलासँग बस्दै आएका फ्रान्सेलीले त्यहाँका १२ वर्षीय, ८ वर्षीय र ७ वर्षीय नाबालकलाई यौन दुराचार गरेको आरोप लागेको छ ।

फ्रान्समा सरकारी सेवाबाट अवकास पाएपछि उनी गैरपर्यटकीय भिसा लिएर केही सयमदेखि पोखरामा बस्दै आएका थिए । प्रहरीले पीडित नाबालकलाई उद्धार गरेर अभिभावकको जिम्मा लगाइएको छ ।

नौगारेट विरुद्ध बालयौन दुरुपयोग र अप्राकृतिक मैथुन गरेको कसुरमा थप अनुसन्धान गरेर कारवाही गरिने सीआईबीका एसपी पाण्डेले रातोपाटीलाई बताए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार