बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन

बैतडी । कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ । मंगलबार गाउँपालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिए ।

उनले भने, “कोरोना जोखिम बढेको छ, गाउँपालिकामा अहिले १६ सक्रिय संक्रमित छन्, विपद् व्यवस्थापन समितिको निर्णयानुसार लकडाउन गरिएको छ ।”

मंसिर २६ गतेसम्म हुने लकडाउनको अवधिमा छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइने र गाउँपालिका र सातवटै वडा कार्यालयबाट प्रदान हुने आकस्मिकबाहेकका सबै सेवा बन्द हुने शाहको भनाइ छ । यस्तै गाउँपालिकाभरिका विद्यालय बन्द रहनेछन् भने भीडभाड हुने खालका सबै कार्यक्रमका रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

लकडाउनको अवधिमा दैनिक उपभोग्य पसल बिहान ८ देखि ९ बजेसम्म खुला राख्ने, गाउँपालिकाभित्रका बैंक तथा वित्तीय संस्था हप्ताको तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै खुला रहने बताइएको छ ।

यस्तै लकडाउनको अवधिमा स्वास्थ्य सेवा प्रदायक संस्था, एम्बुलेन्सलगायतका सेवा पनि सञ्चालन हुने जनाइएको छ । पछिल्लो समयमा डिलाशैनी गाउँपालिकाको समुदायमा कोरोना फैलिएको आशङ्का गरिएको छ ।

यसअघि जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि कोरोना जोखिम बढेको भन्दै मंसिर २२ सम्म लकडाउन गरेको छ । बैतडीमा हालसम्म ५६८ मा कोरोना संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ४ सय ९९ ले कोरोना जितेका छन् भने ६८ जना अझै सक्रिय अवस्थामै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार