१२ बर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गर्ने अभियुक्त फरार

डोटी । बझाङकी १२ वर्षीया बालिका सम्झना विकलाई बलात्कार पछि हत्या गरेको अभियोगमा बालसुधार केन्द्र डोटीमा बन्दी रहेका १६ बर्षीय किशोर भागेका छन् ।

बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि बाल सुधारगृह डोटीमा बन्दी रहेका १६ वर्षीय राजेन्द्र बोहोरा भागेको डोटी प्रहरीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक ईन्द्रबहादुर मल्लले बताए ।

अभियुक्त बोहरालाई कोराना संक्रमण देखिएपछि बाल सुधार गृहबाट अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।अभियुक्त बोहोरा बिहीबार राती आईसोलेसनबाटै बोहोरा भागेका हुन् । फरार बोहराको खोजी कार्य तिव्र रुपमा भई रहेको डोटी प्रहरीले जनाएको छ ।

बोहोरा गत असोजमा बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका थिए। उनलाई जिल्ला अदालत बझाङले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। तर उमेर कम भएका कारण बोहोरालाई बाल सुधार गृहमा राख्नु पर्ने भएपछि प्रादेशिक सुधार केन्द्रको रुपमा रहेको डोटीस्थित बाल सुधार केन्द्रमा राखिएको थियो।

बोहोराले सम्झनाको हत्या गर्नु पूर्व मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको थियो। सो घटनामा गाउँमै मिलापत्र गराउने ८ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो। उनीहरु धरौटीमा छुटेका छन्। नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार