बाहिनी अड्डामा पृथ्वीनारायण शाहको शालिक अनावरण

दमौली । नेपाली सेनाको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ ।

नेपाली सेनाका संस्थापक एवं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा बाहिनीभित्र निर्माण गरिएको शालिकको शनिबार अनावरण गरिएको हो । बाहिनीपति सहायक रथी सागरबहादुर थापाले शालिकको अनावरण गर्दै राष्ट्रपिताको शालिक अनावरण गर्न पाउँदा गौरवान्वित र हर्षित भएको बताए ।

नेपाली सेना सदैव असल र इमानदार हुनुपर्नेमा सहायक रथी थापाको जोड थियो । ‘आधुनिक नेपालको पहिलो सेना प्रमुखको रूपमा पृथ्वीनारायणलाई सेनाले अङ्गिकार गरेको छ’, थापाले भने, ‘उहाँकै सम्मानमा शालिक निर्माण गरेर अनावरण गर्न पाउँदा गौरवको महसुस भएको छ ।’ यस परिकल्पनाकारलाई मूर्तरूप दिन तन, मन, वचन र कर्मले हरेक कार्यमा सहयोग गर्ने सबैलाई सहायक रथी थापाले धन्यवाद ज्ञापन गरे ।

निर्माण सम्पन्न भएको शालिकले बाहिनीको सौन्दर्य बढाउन सहयोग पुगेको थापाले बताए । विभिन्न ब्यारेकमा पृथ्वीनारायण शाहको शालिक निर्माणले तीव्रता पाएकोसमेत थापाले सो अवसरमा जानकारी दिए । पृथ्वीनारायणको पूर्णकदको शालिक निर्माणका लागि रु दुई लाख १४ हजार ९७१ खर्च भएको सहायक बाहिनीपति महासेनानी उत्तम खड्काले जानकारी दिए ।

उनका अनुसार शालिक निर्माणमा श्री नम्बर ३ बाहिनी अड्डाले रु ५३ हजार ७४३, श्रीजङ्ग गणले रु ४२ हजार ९७४, रणसिं दल गणले रु ४२ हजार ९९४ र भगवती दल गणले रु ३२ हजार २४६, दुर्गाभञ्जन गुल्मले रु २१ हजार ४९७, रणदल गुल्मले रु २१ हजार ४९७ लागत सहभागिता व्यहोरेका छन् ।

सेनाकै तीन कालिगडले उक्त शालिक निर्माण गरेका हुन् । सो अवसरमा सहायक रथी थापाले शालिक निर्माण गर्ने कालिगडलाई प्रशंसापत्रले सम्मान गरेका थिए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार