सिन्धुली । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला एक शिक्षकले महिलामाथि जवर्जस्ती करणीको प्रयास गरेपछि पक्राउ परेका छन् ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ चिलाउनेमा भएको विवाहमा पाहुना आएकी धनुषाकी महिलालाई जवर्जस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक सञ्जय साह पक्राउ परेका हुन् ।
मंगलबार बिहानसो घटना भएको थियो । बिहान ४ बजे पिशाव फेर्न शौचालय गएकी ५० वर्षीया महिलालाई शिक्षक साहले जवर्जस्ती समातेर नजिकैको गोठमा लगेर जवर्जस्ती गर्न खोजेका थिए । प्रहरीले ती महिलालाई दिएको प्रारम्भिक बयानअनुसार, साहले जवर्जस्ती समातेर गोठमा पुर्याएको र मुख थुनेर करणी गर्न खोजेपछि महिलाले प्रतिकार गरेका थिए ।
प्रतिकारबाट उम्केपछि महिला चिच्याउँदै हारगुहार गरेपछि होहल्ला भयो । त्यसबेला शिक्षक साह भने भागिसकेका थिए । मंगलबार बिहानभर शिक्षक साहको खोजी भयो । शिक्षक साह भने भागेर ग्वाल्टार पुगिसकेका थिए ।
गोलञ्जोर ६ घोक्सिलास्थित स्कूलमा पढाउने स्थायी शिक्षक हुन साह । गाउँमा कुटपिटमा पर्ने डरले उनी भागेर ग्वाल्टार पुगेको थाहा पाएपछि महिलाले प्रहरी चौकी ग्वाल्टारम उजुरी दिइन् । त्यसपछि शिक्षक साह पक्राउ परे ।
ग्वाल्टारबाट मंगलबार राति नै शिक्षक साहलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हिरासतमा राखिएको छ । मेडिकल गर्ने र म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाउने तयारीमा रहेको एसपी रञ्जु सिग्देलले जानकारी दिए ।
शिक्षक साह लामो समय करारमा गोलञ्जोर ४ कै एक स्कूलमा पढाउँथे । उनले स्थायीमा मनाङमा नाम निकाले । उनी मनाङबाट सरुवा भएर आएका हुन् । उनी गणित विषयका शिक्षक हुन् ।
शिक्षक साहमाथि यसअघि पनि गाउँमा महिलामाथि कुदृष्टि राखेको आरोप लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । नागरिक खबरबाट साभार