चार सय ४७ घरेलु तथा साना उद्योग सञ्चालन स्वीकृति

हेटौंडा । चालु आर्थिक वर्षको विगत चार महिनामा ४ सय ४७ नयाँ उद्योग सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटौंडामा दर्ता भएका छन् । साथै सो अवधिमा लामो समयदेखि कारोवार नगर्ने र नवीकरणसमेत नगराउने ७४ ओद्यौगिक तथा व्यावसायिक प्रतिष्ठानको दर्ता खारेज गरिएको कार्यालय प्रमुख जगन्नाथ दाहालले जानकारी दिए ।

वाणिज्यका ४५ र उद्योग तर्फका २९ प्रतिष्ठान खारेज भएको बताइएको छ । विगत चार महिनामा सो कार्यालयले उद्योग दर्ता र नवीकरणवापत रु एक करोड ४९ लाख ५६ हजार राजश्व प्राप्त गरेको छ ।

सो अवधिमा ४ सय ११ उद्योगको नवीकरण र २५ उद्योगको नामसारी तथा १२ उद्योगको ठाउँसारी भएको स्वीकृति प्रदान गरिएको दाहालले बताए । त्यस्तैगरी बागमती प्रदेशको उद्योग पर्यटन तथा वन मन्त्रालयमा चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्म चार हजार २ सय ४८ उद्योग दर्ता भएको छ । साउनदेखि कात्तिकसम्म उक्त मन्त्रालयमा एक हजार ५ सय ६८ वाणिज्य र २ सय ६३ वटा पर्यटन व्यवसाय दर्ता भएको बताइएको छ ।

चालु आर्थिक वर्षको चार महिनामा दर्ता भएका उद्योगबाट १८ हजार १ सय २० जनालाई रोजगारीको सिर्जना हुने बताइएको छ । त्यसैगरी सो अवधिमा मन्त्रालयले विभिन्न शीर्षकमा प्राप्त आन्दानी रु ११ करोड दुई लाख प्रदेश सरकारको सञ्चित कोषमा राजश्वसमेत जम्मा गरेको छ ।

यसैगरी कोभिड–१९ को समयमा प्रदेश सरकारले रु २४ लाख ७७ हजार उद्योग पर्यटन व्यवसायलाई छुट दिएको मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए । त्यस्तै चालु आर्थिक वर्षको उक्त अवधिमा १ सय ४९ पटक गरेर कूल ९ सय ४७ व्यवसायी प्रतिष्ठानको अनुगमनसमेत गरिएको छ । त्यस्तै १ सय ६३ उद्योगमा अनुगमन भएको तथा ५९ फर्मलाई कारबाही गरिएको उनले बताए ।

यसै सम्बन्धमा हेटौंडा ओद्यौगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले कोरोनाका कारण साना तथा ठूला उद्योगको अवस्था नाजूक रहेको बताए । हेटौंडा ओद्यौगिक क्षेत्रमा रहेका १ सय ११ उद्योगमध्ये अधिकांश पूर्ण क्षमतामा सञ्चालन अवस्थामा नरहेको उनको भनाइ छ । हेटौंडाका काष्ठ उद्योगी रामपुकार ठाकुरले उत्पादन एवं निर्माण गरिएको सामानको बजारमा बिक्री वितरण कम रहेको गुनासो गरे । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार