एकैछिनमा आउँछु भनेर प्रहरी कार्यालयबाट निस्किएका युवकको शव खोलामा भेटियो

काठमाडौँ । तनहुँका एक युवक मंसिर २० मा मादक पदार्थ सेवन गरेर होहल्ला गरेको गुनासोपछि पक्राउ परे । घिरिङ गाउँपालिका–४ सिप्लुङका बलसिं राना नेपाल पक्राउ परेका हुन् । सोही दिन राना भारतबाट आएका थिए ।

साँझ दमौली आइपुगेका उनी त्यतै एक होटलमा बास बस्ने निधो गरे । दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारस्थित एक रेष्टुरेन्टमा खाजा खान पसेका रानाले मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै थिए । सोही आरोपमा प्रहरीले उनलाई पक्रेको थियो ।

रानाले मापसे गरेर होहल्ला गरेको गुनासो आएपछि प्रहरीले पक्रेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले पुष्टि गरे । ‘नियन्त्रणमा लिने क्रममा रानाले प्रहरीमाथि ढुंगा प्रहारसमेत गरेका थिए,’ एसपी पौडेलले भने ।

सोही राती रानालाई जिल्ला प्रहरी कार्यालय तनहुँ लगियो । मेडिकल गरेपछि उनलाई हिरासत कक्षमा राखियो । भोलिपल्ट प्रहरीले आवश्यक प्रक्रियासहित रानालाई जिल्ला प्रशासन कार्यालय बुझायो । प्रशासन कार्यालयले कागज गराएर एक हजार रुपैयाँ बुझाएर छाड्न आदेश दिएको एसपी पौडेलले बताए ।

‘रानासँग साथमा दुईवटा झोला समेत थियो । रिहा भइसकेका राना एकैछिनमा आउँछु भनेर झोला नबोकी बाहिर निस्किए,’ एसपी पौडेलले भने, ‘झोला भएको कारण गाडी खोज्न गएको होला सोचेर जान दियौं । एकछिनलाई भनेर निस्किएका राना साँझसम्म पनि नआएपछि परिवारलाई खबर गर्यौं ।’

रिहा भैसकेकाले राना आउलान् भन्नठानेको एसपी पौडेलले बताए । हिरासतबाट रिहा भएका रानालाई परिवार÷आफन्तको जिम्मा लगाइएको थिएन । एकाएक बेपत्ता भएपछि व्यापक मात्रामा प्रहरी परिचालन गरेर रानाको खोजी भयो ।

अन्ततः प्रहरीले खोजीरहेको बेला राना शनिबार मृत अवस्थामा फेला परेका छन् । रानाको शव शनिबार सेतीमादी नदीमा भेटिएको एसपी पौडेलले बताए । नदीको बीच भागमा अड्किएको रानाको शव नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा डोरीले तानेर झिकेको छ ।

परिवारलाई नबुझाइकनै उनी बेपत्ता भएकाले यसको जिम्मेवारी प्रहरीले लिनुपर्ने रानाको परिवारको भनाइ छ । घटनास्थलको जाँच मुचुल्का गरेर मृतक रानाको शव दमौली अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार