बाँके । पछिल्लो ९ घण्टामा बाँकेमा दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेकाअनुसार ९ घण्टाको अन्तरालमा बाँके र डोटीका कोरोना संक्रमितको ज्यान गएको हो ।
डोटीबाट उपचारका लागि बाँकेको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका ४९ वर्षीय पुरुषको शनिबार बेलुका पौने आठ बजे मृत्यु भएको हो । उनलाई मंसिर २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका ४ का ५० वर्षीय पुरुषको समेत कोरोना संक्रमणका कारण ज्यान गएको छ । मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको थियो ।
उपचारकै क्रममा आइतबार बिहान साढे ३ बजे उनको निधन भएको हो । मृतक दुबैलाई रोगको प्रकृतिअनुसार आवश्यक सबै उपचार विधि अपनाइएको केन्द्रले दावी गरेको छ ।
यससँगै कोरोना संक्रमणका कारण बाँकेका ४१ जनाले ज्यान गुमाएका छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएर ज्यान गुमाउनेको संख्या ६८ पुगेको छ । नागरिक खबरबाट साभार