उच्च अदालतद्वारा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला

कैलाली । कैलालीको टिकापुर घटनामा जेल सजाय भोगिरहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ । चौधरी उपर डोटी उच्च अदालतले जन्मकैदको फैसला सुनाएको हो । त्यस्तै कैलाली जिल्लाबाट तीन बर्षको जेल सजाय पाएका लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला गरिएको छ ।

कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जनाको हत्याको मुद्धामा उनीहरुलाई अभियुक्त बनाईएको थियो । लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला भएको छ । जन्मकैदको सजाय हुनेमा लक्ष्मण थारु, रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी रहेका छन् ।

सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाका हकमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेकामा उच्च अदालत दिपायलले त्यसलाई बदर गरी ५ वर्ष मात्र कैद गर्न आदेश दिएको छ ।

त्यसैगरी संगम चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई १० वर्ष कैदको सजाय सुनाइएको छ । उनीहरूले हातहतियारसहित टीकापुर घटनामा गएको बयान अदालतमा स्विकारेका थिए ।

घटनामा संलग्न रहेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमबहादुर चौधरीको हकमा भने यसअघि तीन वर्ष कैद सजाय तोकिएकामा उच्च अदालतले ५ वर्ष कैद सजाय तोकेको छ ।

चुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियाको हकमा भने ३ वर्षको कैद सजायलाई नै सदर गरिएको छ । विश्राम चौधरीलाई ३ वर्ष कैद सजाय तोकेकामा उच्च अदालतले उनलाई सफाइ दिएको छ । रामनरेश चौधरी र तहावीर अलीले पनि सफाइ पाएका छन् । उनीहरूलाई जिल्ला अदालत कैलालीले समेत सफाइ दिएको थियो । करण चौधरी भने नाबालक रहेकाले ६ महिना कैद सजायलाई सदर गरेको छ ।

रेशम चौधरी हाल डिल्लीबजार कारागारमा सजाय भोगिरहेका भने लक्ष्मण थारु यसअघि जिल्ला अदालत कैलालीले तोेकेको सजाय भोगेर छुटिसकेका छन् । जन्मकैदको फैसला सुनाइएका रेशम चौधरीलाई यसअघि जेलबाटै सिंहदरबार लगेर तात्कालीन सभामुख कृष्णबहादुर महराले सांसद पदको शपथ खुवाएका थिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार