बूढानीलकण्ठ मन्दिर आजदेखि भक्तजनका लागि खुला

काठमाडौं । बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि पुनः खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गतवर्ष चैत ११ गतेदेखि भक्तजनका लागि मन्दिर प्रवेशमा रोक लगाइएको थियो ।

वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले आज बिहान मन्दिर परिसरमा आयोजित कार्यक्रममा मन्दिर खुला गरिएको घोषणा गरे । कार्यक्रममा प्रदेशसभा सदस्य निरौलाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिर क्षेत्रको विश्वका वैदिक सनातन धर्मावलम्बीकाबीच प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने बताए ।

नगर प्रमुख खरेलले विसं २०४० मै अधिग्रहण भएको मन्दिर क्षेत्रको जग्गालाई मठ मातहत ल्याई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने हिसाबले संरचना निर्माण गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । अधिग्रहण भइसकेको जग्गा छोडिदिन पनि उनले सरोकार भएकालाई आग्रह गरे ।

कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले बताए ।

नौ महिनासम्म मन्दिर बन्द गरिएपनि नित्य पूजा, आरती भने नियमति भइरहेको छ । मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो ।

बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहेका विश्वमै मन्दिरको महत्वपूर्ण स्थान रहेको महन्त निगमानन्दको भनाई थियो ।ठूलो शिलामा जलमाथि भगवान् शयन गरेका थिए । अलौकिक मूर्ति विश्वमै अद्वितीय मानिन्छ ।

यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन् । मन्दिर खुला गरिएपछि भक्तजन दर्शनका लागि आउन थालेका छन् । जसले गर्दा नौ महिनासम्म सुनसान रहेको मन्दिर क्षेत्रमा चहलपहल बढेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार