कात्तिकमा भित्रियो ७८ अर्ब रेमिट्यान्स

काठमाडौं । कात्तिक महिनामा ७८ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कात्तिक महिनामा कुल ७८ अर्ब १८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।

योसँगै ४ महिनामा कुल ३ सय ३७ अर्ब ४ करोड रुपैयाँ बराबरको रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ । यो रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको ४ महिनाको तुलनामा ११.२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष रेमिट्यान्सको यो आकार ५ प्रतिशतले घटेको थियो ।

यो रेमिट्यान्स आप्रवाहसँगै यो महिनामा ९ अर्ब ५६ करोड शोधनान्तर बचत भएको छ । यो बचतसँगै ४ महिनाका देशको कुल धोधनान्तर स्थिति १ सय १० अर्ब ६५ करोड रुपैंया पुगेको राष्ट्र बैंकको तथ्यांक छ । यो बचतसँगै विदेशी विनिमय सञ्चिति १५ खर्ब ६ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

रेमिट्यान्स बढे पनि यो अवधिमा वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या भने ह्वात्तै घटेको छ । ४ महिनाको अवधिमा कुल २५ हजार ९ सय ३१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा करिब ६७.९ प्रतिशत कम हो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार