खेलाडी गुरुङलाई दुई लाख सहयोग

धरान । अभ्यासका क्रममा लडेर घाइते भएका बास्केटबल खेलाडी प्रदीप गुरुङलाई उपचारार्थ रु दुई लाख सहयोग सङ्कलन भएको छ ।

उनको अहिले विपी प्रतिष्ठानमा उपचार भइरहेको छ । बास्केटवल सङ्घ धरान र सुनसरीद्वारा संयुक्त रुपमा मैत्रीपूर्ण बास्केटवल प्रतियोगिता आयोजना गरी उनको उपचारको लागि सो नगद सङ्कलन गरिएको हो ।

सङ्घका केन्द्रीय उपाध्यक्ष सुरज लामा र जिल्ला अध्यक्ष नारायण सुवेदीले बुधबार खेलाडी गुरुङलाई सङ्कलित रकम हस्तान्तरण गरेका हुन् । सोही अवसरमा धरान उपमहानगरपालिका– १८ का वडाअध्यक्ष प्रवीण राईले रु १५ हजार र एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईले १० हजार पनि सहयोग गरेका थिए ।

यसैगरी नेपाल बास्केटबल लिगबाट १० हजार, झापा बास्केटबल सङ्घबाट पाँच हजार, हिमालयन मेघा कलेजबाट पाँच हजार, होप धरानले सङ्कलित रु २७ हजार ४१० पनि खेलाडी गुरुङलाई हस्तान्तरण गरिएका बास्केटबल सङ्घ धरानका सचिव विकास चाम्लिङले जानकारी दिए ।

सङ्घका केन्द्रीय उपाध्यक्ष लामाले खेलाडी घाइते हुँदा राज्यले उपचारको प्रबन्ध गर्नुपर्छ भनेर ध्यानाकर्षण गराउनको लागि सहयोग जुटाउन खेल आयोजना गरिएको बताए । कार्यक्रममा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले राष्ट्रको लागि खेल्ने खेलाडी घाइते हुँदा राज्यले नै उपचारको प्रत्याभूति गर्नुपर्छ भने ।

सातौं र आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता उत्कृष्ट खेल प्रस्तुत गर्न सफल २८ वर्षीय गुरुङ प्रदेश न १ का उदयमान खेलाडी हुन् । उनको दाहिने घुँडाको एन्टिरियर क्रुसिएट लिगामेन्ट (एसिएल) पूर्णरुपमा च्यातिएको छ ।

मिडियल मिनिस्कस र लेटिरियल मिनिस्कसको भाग पनि केही च्यातिएको चिकित्सकले जनाएका छन् । खेलाडी गुरुङको शल्यक्रिया तथा लिगामेन्ट प्रत्यारोपण गर्न कम्तीमा रु तीन लाख खर्च हुने बताइएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार