आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘घुमौं सौराहा’ अभियान

वीरगञ्ज । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीहरु आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका छन् । कोरोना महामारीले गर्दा बाहृय पर्यटक आउन छोडेपछि उनीहरु आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका हुन् ।

आन्तरिक पर्यटकलाई आकर्षित गर्न उनीहरुले ‘घुमौं सौराहा’ अभियान चलाएका छन् । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा ‘घुमौं सौराहा’ अभियान सञ्चालन गरिएको हो । होटलमा २० देखि ४० प्रतिशत छुटको प्याकेजसहित व्यवसायी देश दौडाहामा निस्किएका छन् ।

अभियान मार्फत पहिलो चरणमा प्रदेश १ र प्रदेश २ का विभिन्न सहर पुगेर व्यवसायीहरुले सौराहा आउन निम्तो दिएका छन् । पुस १० गते प्रदेश १ को धरान पुगेको टोलीले विराटनगर पछि प्रदेश २ को जनकपुर, बर्दिबास र वीरगञ्जमा आएर पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ ।

होटल तथा पर्यटन व्यवसायी, उद्योगी, स्थानीय जनप्रतिनिधि, ट्राभल एण्ड टुर्सका प्रतिनिधि लगायत सरोकारवालालाई भेटेर उनीहरुले सौराहा आउन आग्रह गरेका हुन् । होटल व्यवसायी संघलाई अभियानमा जिल्ला समन्वय समिति, चितवन, रत्ननगर नगरपालिका र नेपाल पर्यटन बोर्डले अभियानमा साथ दिएको छ ।

वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्नेहरुले कोरोना महामारीका कारण थलिएको होटल तथा पर्यटन व्यवसायलाई माथि उकास्न नाका खोल्नुपर्नेमा जोड दिएका छन् । वीरगञ्जबाट नै देशभर पर्यटक जाने भएपनि नाका हुँदै भारतीय पर्यटकलाई आउन रोक लाग्दा व्यवसायले गति लिन नसकेको वक्ताहरुको ठहर छ ।

‘पर्यटन क्षेत्रमा ७० प्रतिशत भन्दा बढी भारतीय पर्यटक आउँछन् । तर कोरोना नियन्त्रणको नाममा नाका बन्द गरिएको छ,’ उनीहरुले भनेका छन्, ‘यसले पर्यटन क्षेत्रलाई झनै ध्वस्त पारिरहेको छ । पर्यटन क्षेत्रलाई माथि उठाउन नाका खोल्नुको विकल्प छैन ।’

वीरगञ्जदेखि सौराहा पर्यटकीय बस सेवा सञ्चालन गर्न आवश्यक तयारी थाल्न दुवै तर्फका सरोकारवाला सहमत भएका छन् । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले एकजना पर्यटक नेपाल आउँदा दुई जनाले रोजगारी पाउने बताए । चीनको अर्थतन्त्रमा आन्तरिक पर्यटनको महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले रत्ननगरसँग भगिनी सम्बन्ध कायम गरेर सहकार्य गर्न वीरगञ्ज तयार रहेको बताए ।

रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण बमले आन्तरिक पर्यटन चलायमान गराउन सके व्यवसायी होटल तथा पर्यटन व्यवसायबाट पलायन हुन नपर्ने बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले भारतीय पर्यटकलाई आन्तरिकलाई जस्तै व्यवहार गर्नुपर्नेमा जोड दिए ।

भिजिट मधेस नेपालका संयोजक ओम प्रकाश सर्राफले साँस्कृतिक आदान प्रदान मार्फत पर्यटकलाई तान्न सकिने बताए । यस्तै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले नाका नखुलेसम्म पर्यटन क्षेत्रले गति नलिने बताए ।

क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष सुमन घिमिरेले बाह्य पर्यटकको भरले मात्रै व्यवसाय सञ्चालन नहुने देखेर आन्तरिक पर्यटन प्रवद्धनका लागि अभियान शुरु गरिएको बताए । रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले विशेष छुट सुविधाका कारण दुईजना घुम्ने पैसाले सौराहामा पूरा परिवार घुम्न सक्ने बताए ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार