वृद्धाश्रमका लागि अक्षयकोष अभियान

चितवन । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको समाज कल्याण केन्द्र वृद्धाश्रम सञ्चालनका लागि आजीवन सदस्य अक्षयकोष निर्माण अभियान सञ्चालन गरिएको छ । एक व्यक्तिबाट रु १५ हजार ५ सय लिएर आजीवन सदस्य बनाउने गरी अभियान सुरु गरिएको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक एवं वृद्धाश्रमका अध्यक्ष धीरणबाबु घिमिरेका अनुसार एक हजार जना सदस्य बनाएर रु एक करोड ५५ लाखको अक्षयकोष बनाउन लागिएको हो । अभियान सञ्चालन गरेसँगै ८१ जना सदस्य भइसकेका छन् । उनले भने, “एक हजार आजीवन सदस्य बनेसँगै वृद्धाश्रमका लागि सरकारको भरपर्नुपर्दैन ।” वृद्धाश्रममा हाल ३८ जना वृद्धवृद्धा रहेका छन् । वृद्धाश्रमको क्षमता ५० जनाको रहेको छ ।

उनका अनुसार ६ जना कर्मचारीले वृद्धाश्रम हेर्दै आएका छन् । जायजन्म र जायजेथा नभएका ६० वर्ष नाघेका वृद्ववृद्वालाई स्थानीय तहको सिफारीसमा वृद्धाश्रममा राख्ने गरिन्छ । हाल रहेका वृद्ववृद्वा देशभरका १२ जिल्लाका रहेका छन् । अभियानमा साथ र सहयोगका लागि उनले सबैसँग आग्रह गरे ।

हाल सो वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई आवश्यक खाद्यन्न र लत्ताकपडा दाताले पु¥याउँदै आएका छन् । उनका अनुसार पछिल्लो समय वृद्धाश्रममा भौतिक संरचना थप निर्माण गरी सुविधा सम्पन्न बनाइएको छ । वृद्धवृद्धालाई बस्ने ठाउँदेखि नुहाउनका लागि तातो पानी, वातावरण अनुकूलित आवास क्षेत्र टेलिभिजन जडान लगायतका काम गरिएको छ ।

विसं २०५२ बाट वृद्धाश्रम सञ्चालनमा ल्याइएको हो । धेरैको चाहना जीवनको अन्तिम क्षण धार्मिकस्थलमा बिताउने इच्छा हुने गर्दछ । परिवारबाट पालनपोषण नपाएका वृद्धाश्रममा बस्छन् भने आर्थिक अवस्था राम्रो भएकाले देवघाटमानै कुटी निर्माण गरेर बस्ने गरेका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार