नेकपा मालिका गाउँ कमिटीको बैठक ,ओलीको असंवैधानिक कदम खेदजनक र जनमतको हत्या भएको ठहर

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मालिका गाउँ कमिटीको बैठक सम्पन्न भएको छ । गुटगत भेला नभई समग्र पार्टीको आधिकारीक बैठक भएको सचिव गोविन सिउथानी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकबाट प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमको विरोध गर्ने र पार्टी एकतामा जोड दिने निर्णय भएको छ । बैठकले ओलीको असंवैधानिक कदम खेदजनक र जनमतको हत्या भएको ठहर समेत गरेको छ ।

‘पुस ४ मा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको विरोध र भत्र्सना गर्ने निर्णय गरियो । साथै यो कदम खेदजनक र नेपाली जनताको जनमतको हत्या भनिएको छ ’–बैठकबाट पारित भएको निर्णय नं.१ मा लेखिएको छ ।

यसैगरी ,‘पहिलो घटनाक्रमलाई लिएर जिल्ला, प्रदेश ,केन्द्रका नेताहरु दुई खेमामा रहेको र पार्टी विभाजनको संकेट देखिएकोले जिल्ला ,प्रदेश र केन्द्रमा एकताको माहोल नबन्दा सम्म नेताहरु मालिका गाउँपालिका प्रवेश नगर्नुहुन अनुरोध गरियो र कुनै पनि गुट–उपगुटमा लाग्न निर्देश नगर्न भनि जिल्ला कमिटीमा परिपत्र गर्ने निर्णय गरियो ’ निर्णय नं. २ मा लेखिएको छ ।

निर्णय नं.३ अनुसार सहि र सत्यको लागि कार्यकर्तालाई क्रान्तिकारी बन्न आह्वान समेत गर्ने सचिव सिउँथानी मगरले बताउनुभयो । सचिव सिउथानीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा जिल्ला कमिटी सदस्य तथा सचिवालय कार्यालय सदस्य सुविन जुग्जाली र डिसीएम गौरी सेञ्चुरी लगायत ५० जनताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार