नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सरकारलाई बुझायो हस्ताक्षर

म्याग्दी, २५ जेठ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन तथा सार्वजनिक सूचनाबाट वञ्चित गर्ने सरकारको निर्णय सच्याउन माग गर्दै संकलन गरिएको हस्ताक्षर सरकारलाई बुझाएको छ । महासंघले सोमबार सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्ताक्षर पठाएको हो ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअनुसार म्याग्दी शाखाले जेठ ८ गते सरकारी विज्ञापन वितरणसम्बन्धी परिपत्र खारेज गर्न माग गर्दै हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको थियो । हस्ताक्षर बुझाउने कार्यक्रममा शाखाका अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष घनश्याम खड्का, सचिव शिव आचार्य, कोषाध्यक्ष साधन घर्ती, पत्रकार सन्तोष गौतमलगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता, सञ्चार क्षेत्रको दिगोपना तथा नागरिकको सूचनामा पहुँचमा नकारात्मक प्रभाव पार्ने जनाएको छ । त्यसैले उक्त निर्णय तत्काल पुनर्विचार गरी सच्याउन सरकारसँग आग्रह गरिएको महासंघले जनाएको छ ।

सरकारको निर्णयविरुद्ध महासंघले सञ्चालन गरेको दोस्रो चरणको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न क्षेत्रका व्यक्तिहरूले हस्ताक्षर गरेका छन् । सञ्चार क्षेत्रको अस्तित्व, प्रेस स्वतन्त्रता तथा नागरिकको सूचनाको हकको संरक्षणका लागि आन्दोलनलाई निरन्तरता दिइने महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार