माघ १६ पछि आमहड्ताल गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गतेपछि आफूहरु आमहड्तालमा जाने चेतावनी दिएका छन् । अबका कार्यक्रम दैनिक सशक्त बन्दै जाने भन्दै उनले आगामी माघ १६ पछि प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिए । त्यसका लागि तयारीमा लाग्न पनि प्रचण्डले नेता–कार्यकर्तालाई निर्देशन दिए ।

सोमबार आफू निकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको मात्र नभइ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रकै विघटन गरेको आरोप लगाए । ‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको होइन, त्यो अधिकार पनि उहाँलाई छैन । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको हो । त्यसकारकारण आन्दोलनको विकल्प छैन । ढिलो गर्न पनि हुँदैन । जनताको अदालत सवैभन्दा माथि हुन्छ’ उनले भने ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई हुर्किँदै गरेको बच्चाको संज्ञा दिँदै त्यसलाई बचाउन जनअदालतको फैसला सुनाउन आवश्यक रहेको पनि बताए ।उनले प्रधानमन्त्री ओलीको सोच पहिलेदेखि नै प्रतिगमनकारी रहेको उल्लेख गर्दै अहिले आएर त्यो पुष्टि पनि भएको बताए ।

प्रचण्डले ओलीले पार्टी एकताका बेला संविधान, पार्टी विधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति गरेको हस्ताक्षर पनि किर्ते रहेको दावी गरे । ‘उहाँको सम्पूर्ण सोच प्रतिगमनकारी रहेको कुरा अहिले प्रमाणित भएको छ । पार्टीका विधिविधान नमान्ने, समावेशी समानुपातिक नचाहने ओलीले अन्ततः संविधान नै भत्काए’, प्रचण्डको आरोप थियो । प्रचण्डले जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति पनि ओली नै भएको जिकिर गरे ।ओलीले पार्टी एकता बेला सवैले हस्ताक्षर गरेको विचार र विधि विधानभन्दा बाहिर गएर नेकपा फुटाएको पनि प्रचण्डले दावी गरे ।

‘ओलीले पार्टी एकताका बेलाको विचार छोडेकाले उहाँ फुटबादी हो । केन्द्रीय समितिबाट पारित राजनीतिक प्रतिवेदन नै पार्टी एकताको आधार थियो । तर उहाँले त्यो छोड्नुभयो । अव तपाईंहरु नै छुट्याउनुस् को हो फुटवादी ?’, प्रचण्डले आक्रोशित हुँदै भने ।उनले ओलीले एकताका बेलाको विचार स्वीकार गरेको भएमात्रै पनि समस्या नआउने अवस्था रहेको सो क्रममा बताए ।

प्रचण्डले ओलीसँग सहकार्य गर्ने क्रममा आफूबाट पनि केही कमजोरी भएको स्वीकार्दै त्यसप्रति अहिले गल्ती महसुस भएको बताए । ‘उहाँको भुलभुलैया, जिद्दिलाई मान्नु मेरो पनि केही गल्ति हो’, प्रचण्डको भनाइ छ । उनले भ्रममा परेर केपी पक्षमा गएकाहरुपनि अन्ततः आफ्नै पक्षमा आउने विश्वास व्यक्त गरे । अध्यक्ष प्रचण्डले अदालत र निर्वाचन आयोगप्रति आफ्नो पूर्ण विश्वास रहेको उल्लेख गर्दै सूर्य चिन्ह र नेकपाको आधिकारिकता आफूहरुले नै पाउने ठोकुवा गरे । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार