जलजलाको दह दम्पती हत्यामा संलग्न अभियुक्त सार्वजनिक,यसरी भएको थियो हत्या

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–२,मल्लाजको दहका दम्पती हत्यामा संलग्न अभियुक्त दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । १ महिनाको लामो अनुसन्धान पछि ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ बर्षिया गमला जिसीको हत्यामा संलग्न अभियुक्तहरु पर्वत जिल्ला जलजला गाउँपालिका–२,नेपाने वस्ने ३२ बर्षका कृष्णबहादुर विश्वकर्मा र पर्वत जिल्ला कुश्मा नगरपालिका– २,खुर्कोट घर भई जलजला गाउँपालिका–२,बौरमा बस्ने दिपक दर्जीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । अभियुक्तलाई प्रहरीले पर्वतको मल्लाजबाट र पोखराबाट मङ्गलबार प्रक्राउ गरेको थियो । दर्जी हाल पोखरा स्थित नयाँ बजारमा डेरा गरी बस्दै आएका थिए ।

जलजलाको दह दम्पती हत्याकाण्ड : दुई जना आरोपी पक्राउ

प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालका अनुसार ,केन्द्रिय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालय, पर्वत प्रहरी कार्यालय र म्याग्दी प्रहरी कार्यालयको संयुक्त फोर्सले मिसन ‘लाली गुराँस’ नामको अनुसन्धान अप्रेशन चलाएको थियो । कर्तब्य हत्यामा संलग्न बारदात स्थलबाट फरार भएका कारण अनुसन्धान टोलीलाई अनुसन्धान गर्न जटिल थियो, यद्यपि टोलीले हत्यामा संलग्न २ जना आरोपीलाई पक्राउ गर्न सफल भयो । जिसी दम्पतीको १९ चैत राती हत्या भएको थियो ।

यसैगरी प्रहरीले हत्यामा संलग्नहरुले लुटपाट गरेको सुनलाई खरिद तथा तथा सुन गाल्नमा संलग्न भएका थप २ जनालाई पनि नियन्त्रणमा लिएको छ । पर्वत जिल्ला जलजला गाउँपालिका वडा न १ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा न २५ हेम्जामा डेरा गरेर बस्ने बर्ष ६० का कर्णबहादुर विक लुटपाट भएको सुन गालेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा न ७ घर भइ बागलुङकै वडा न २ लोकतान्त्रिक चोकमा रहेको पूर्णिमा सुनचाँदी पसलका सञ्चालक परशुराम विकलाई सुन खरिद गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।

हत्यामा संलग्न विक र दर्जीको चिनजान ६ महिना अघि भएको थियो । उनीहरु दुवै जीप चलाउने क्रममा चिनजान भएका साथीहरु हुन् । आर्थिक स्थिति कमजोर भएको, लागू औषध दुर्व्यसनीमा लागेको, वैदेशिक रोजगारमा समेत असफल भएको, लगायतका कारण उनीहरूले विगत एक वर्षदेखि गाउँ घरका महिला तथा बृद्धबृद्धालाई लक्षित गरेर लुटपाट गर्ने मनसाय रहेको पाइएको छ। चैत १८ गते उनीहरु जलजला गाउँपालिका–२,बौर बजारमै आइ भेट गरी बेनी बसपार्क पुगी नजिकको पसलबाट रक्सी, चाउचाउ र चटपट किनी बौर बजार हुँदै कालीगण्डकी नदीको किनारमा बसी खाएका थिए ।

सोही दिनको दिउँसो करिब ४ बजे तिर स्थानीय राममन्दिर हूँदै उनीहरु मृतक दम्पतीको पसल भएको घरमा पुगेका थिए । त्यहाँ पुगेका उनीहरुले करिब आधा घण्टा घर्ती दम्पतीसँग विभिन्न विषयमा कुराकानी गरेको अनुसन्धानबाट खुलेको छ । उक्त समय देखि नै उनीहरुले लुटपाट गर्ने उद्देश्य बनाएको र मृतकले लगाएको गरगहना तथा घरको अवस्थाको बाहेमा उनीहरुले रेकी गरेको प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालले बताउनुभयो ।

पछिल्लो १९ गते दिनभर नदी किनारमा माछा मार्न बसेका उनीहरुले माछा जालमा नपरेपछि करिब ४ बजे तिर स्थानीय तिल्किनी स्थित बजारबाट रक्सी, चुरोट चाउचाउ किनेर नदी किनारको घुमाउने तालको पुल हुँदै दह तर्फ उकालो चढेका थिए । दह तर्फबाट उकाले लागेका उनीहरु बेलुका ८ बजेसम्म स्थानीय जङ्गलमा गाँजा, रक्सी र चाउचाउ खाएका थिए ।

भने पूर्ववत योजना बमोजीम नै राती ८ः३० बजेको समयमा उनीहरुले लुटपाटको योजना बनाएर मृतकको घर आउँदै गर्दा जङ्गलमा आगो निभाउन मृतक सूर्यबहादुर जिसी लगाएतका स्थानीयलाई देखेपछि उनीहरु पुनः जङ्गलमा नै गएर लुकेर बसेका थिए । जङ्गलमा लागेको आगो निभाउने मानिस गए पछि रातको करिब १० बजे उनीहरु मृतकको घरमा गएको अनुसन्धानले देखाएको छ । पसल समेत रहेको घरमा गएर आरोपी कृष्णबहादुर विकले चुरोट किन्ने बहानामा ‘हजुरबुवा म कृष्ण हो,’ मलाई चुरोट दिनुहोस् भन्दै बोलाएका थिए । विकसंगै गएका दिपक दर्जीले चुरोट वापतको ७० रुपियाँ समेत मृतक जिसीलाई दिएको अनुसन्धानबाट पुष्टि भएको छ ।

अभियुक्तले प्रहरीलाई दिएको बयान अनुसार चुरोट दिएपछि मृतक सूर्यबहादुरले बाहिरको बत्ती किन बलेन भनेर टाउको बाहिर निकाल्दा कृष्णबहादुरले आफूसंगै रहेको लाठी टाउकोमा प्रहार गरेका थिए । घर बाहिरकोे बत्तिको ब्लब भने विक र दर्जीले यस अघि नै निकालेर फालेका थिए । मृतक सूर्यबहादुरको टाउकोमा चोट प्रहार पछि हार गुहार गर्दा उहाँकी श्रीमती गमला जिसी घरबाट निस्कन खोज्नुभएको थियो । सोही बेलामा हत्यामा संलग्न दिपक दर्जीले लात्ताले बाहिरबाट मुल ढोकामा हानेर भित्र गई मृतक घर्तिलाई लात्ता तथा काठको लाठीले टाउकोमा प्रहार गरी हँसियाले घाँटी रेटी हत्या गरेका थिए ।

श्रीमतीको हत्या पछि उनीहरुले आफूसंगै लगेको सोहि हतियार टाउँको तथा घाँटीमा प्रहार गरी सूर्यबहादुरको समेत हत्या गरेका थिए । हत्या गरेपछि सुन तथा नगद लुटपाट गरेका उनीहरु घर भन्दा माथिको मोटरबाटो हुँदै भाग्न खोजेका थिए, तर जङ्गलमा आगो निभाउने मान्छेहरु देखेपछि पुनः मृतकको घर हुँदै राम मन्दिर झरी पर्वत पट्टीको बाटो प्रयोग गरी मालढुङ्गा पुगेका थिए । विहान करिब ५ बजेको समयमा मालढुङ्गाबाट बस चढेका उनीहरु पोखरा पुगेर लुटपाट भएको सुन र नगद बाँडफाँड गरेका थिए । पर्वत प्रहरीका अनुसार यो हत्याकाण्ड पत्ता लगाउन करिब दुई हजार भन्दा बढी व्यक्तिहरूसँग प्रत्यक्ष रूपमा सोधपुछ गरिएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार