राधिका थापा भइन् प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम गर्ने पहिलो महिला सैनिक

काठमाडौं । नेपाली सेनाको इतिहासमा सिपाही राधिका थापाले नयाँ रेकर्ड कायम गरेका छन् । जवान थापाले प्रतिविद्रोह तथा जंगल युद्धकला तालिममा इतिहास रचेकी हुन् ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालका अनुसार, पुरुषकै लागि पनि कठिन मानिने सो तालिम सम्पन्न गर्ने उनी सेनाभित्र पहिलो महिला सैनिक बन्न सफल भएकी छिन् ।

निर्देशनालयले भनेको छ, ‘प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयमा मिति २०७७।०७।१८ गतेबाट माघ ६ गतेसम्म सञ्चालन भएको प्रतिविद्रोह तथा जंगल वारफेयर तालिममा सोही शिक्षालयकी महिला सैनिक जवान व्य.नं. २६३८०७ सिपाही राधिका थापा पहिलो पटक सहभागी भई सफलतापूर्वक सो तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक हुन सफल भएकी छन् ।’

सिन्धुपाल्चोकको मेलम्ची–२ थापाटोल ठेगाना भएकी उनी ०६९ असारमा नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन् । सैन्य आधार तालिम पश्चात उनी २०७० जेठमा शिक्षालयमा कार्यरत रहेकी थिइन् । उनले हाल सोही शिक्षालयमा सञ्चालन भएको उच्चस्तरको शारिरिक एवं मानसिक क्षमता माग तालिम सफलतापूर्वक सम्पन्न गरेकी हुन् । सेनाले उनले साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंशा गरेको छ ।

तीन महिनासम्म चल्ने उक्त तालिममा जंगल नेभिगेशन, धराप निर्माण गर्ने तथा सर्पदंश व्यवस्थापन लगायत विभिन्न सैनिक ज्ञान तथा सीपहरु सिकाइन्छ । थापाले यसअघि नै बिल्लादार ग्रेड–३ तथा लाइट मोटर ड्राइभिङ्ग एण्ड मेन्टिनेन्स तालिम समेत सफलताका साथ सम्पन्न गरि सकेकी छन् ।सेनाले यसअघि विभिन्न विधामा इतिहास रच्न सफल भएका महिला सैनिकको विववरण समेत सार्वजनिक गरेको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार