हत्याको आशंकामा पशुपतिमा जलाइँदै गरिएको शव प्रहरीद्वारा बरामद

काठमाडौं । हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको शव बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको शव बरामद गरिएको हो । बरामद शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको बस्नेतले अनलाइनखबरलाई बताए ।

अनुसन्धानका लागि प्रहरीले चौधरीका श्रीमान ३८ वर्षीय रवि र चल्ली भनेर चिनिने अनु थापालाई पक्राउ गरेको छ । ‘चार दिन अघि मृतकले अनुको मोबाइल चोरेको भन्ने खुलेको छ, त्यसैले उनले अरु दुईरतीन जना महिला लगाएर कुटपिट गरेको पाइएको छ’, बस्नेतले सुनाए, ‘टाउको र आँखामा चोट लागेका उनी त्यसपछि हिँड्न नसकेर त्यहीँ लडेकी रैछिन् ।’

शनिबार त्यहीँ लडिरहेको देखेपछि रवि र अनुले मन्दिरभित्र आश्रममा सुताइदिएको पाइएको प्रहरीले जनाएको छ । तर, त्यसवेलासम्म बबिताको मृत्यु भइसकेको हुनसक्ने आशंका गरिएको छ ।

उनको श्रीमान रविसँग पनि राम्रो सम्बन्ध थिएन । बबितालाई अफ्ठ्यारो अवस्थामा देख्ने बित्तिकै अस्पताल लैजानुपर्नेमा उनीहरुले शव व्यवस्थापन गर्ने प्रयास गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

डीएसपी बस्नेतका अनुसार मिस्त्री पेशामा संलग्न रवि र अनुले केहीपर लगेर खाल्डोमा पुर्ने प्रयास गरेको हुनसक्ने देखिएको छ । तर, पुर्न अफ्ठ्यारो भएपछि आगो लगाएको प्रहरी आशंका छ । प्रहरीले शव बरामद गर्दा शवको अधिकांश भाग जलिसकेको थियो । उनीहरु मन्दिरकै आश्रममा बस्दै आएका थिए । अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार